काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालमा हालै आएको विनाशकारी विपद्लाई विश्वका लागि गम्भीर चेतावनीका रूपमा लिन आग्रह गरेका छन्। उनले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्र बढ्दो जोखिममा रहेको उल्लेख गर्दै तत्काल प्रभावकारी विश्वव्यापी कदम चाल्न आह्वान गरे।
महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले आफू हिमालयमा अवस्थित नेपालबाट सम्पूर्ण मानवताका लागि एउटा गम्भीर सन्देश बोकेर आएको बताए। विकास, लोकतन्त्र, शान्ति र युवा राष्ट्रका सम्भावनाबारे बोल्न चाहेको भए पनि हालैको विपद्का कारण मृत्यु, विनाश र पीडाबारे चर्चा गर्न बाध्य भएको उनको भनाइ थियो।
उनले विपद्मा परिवारका सदस्य गुमाएका तथा आफ्ना प्रियजनको खोजीमा रहेका परिवार र समुदायको पीडा विश्वसामु प्रस्तुत गर्दै केही मिनेटमै पुल, सडक, विद्यालय, घर तथा हजारौं नागरिकको जीविकोपार्जन बगेको बताए। दिगो विकास लक्ष्य हासिल गर्दै अघि बढिरहेको नेपाललाई केही साताअघि आएको विपद्ले गम्भीर क्षति पुर्याएको उनले उल्लेख गरे।
प्रधानमन्त्री शाहले हिमाली समुदायलाई तहसनहस बनाएको विनाशकारी बाढीलाई कतिपयले “माउन्टेन सुनामी” र “हिमालयन सुनामी” समेत भनेको स्मरण गराउँदै भोटेकोसी–त्रिशूली क्षेत्रमा आएको विपद् केवल स्थानीय त्रासदी नभई विश्वका लागि चेतावनी भएको बताए।
“आज म तपाईंहरूलाई सोध्न चाहन्छु– के तपाईंहरूले त्यो चेतावनी वास्तवमै सुन्नुभएको छ ?” उनले महासभामा प्रश्न गरे।
उनले करिब तीन वर्षअघि सगरमाथाको आधार क्षेत्रमा उभिएर संयुक्त राष्ट्रसंघका महासचिवले जलवायु संकटबारे दिएको चेतावनी स्मरण गर्दै वैज्ञानिक समुदायले पनि प्रमाणसहित त्यस जोखिमलाई निरन्तर औंल्याउँदै आएको बताए। तर राजनीतिक नेतृत्वले आवश्यक गति र स्तरमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै उनले चिन्ता व्यक्त गरे।
शाहले गत महिना देखिएको विपद् त्यही बेवास्ताको परिणाम भएको उल्लेख गर्दै जलवायु परिवर्तनले हिमालयको संवेदनशील पारिस्थितिक प्रणालीलाई अस्थिर बनाइरहेको बताए। उनका अनुसार पग्लिँदो स्थायी तुषारो (पर्माफ्रस्ट)ले हिमाली भिरालो भूभागमा चिरा पार्ने, हिमनदीमुनिका संरचनालाई कमजोर बनाउने तथा बरफ र चट्टानका पहिरोको जोखिम बढाउने काम गरिरहेको छ।
सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले हिमालय क्षेत्रमा देखिएका परिवर्तनलाई नेपालमात्रै नभई सम्पूर्ण विश्वको साझा चुनौतीका रूपमा लिनुपर्नेमा जोड दिए। उनले जलवायु संकटको असर सीमाना नमान्ने भएकाले विश्व समुदायले तत्काल समन्वित र प्रभावकारी कदम चाल्न आवश्यक रहेको बताए।




Comment