add

कुर्सीमा बसेर कागजमा लेख्ने मात्रै शिक्षामा हामी रुमलिँयौँ- प्रधानमन्त्री ओली






ActPro Nepal

|

१२ चैत, २०८१

|
248

ललितपुर ।  प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष के.पी. शर्मा ओलीले कुर्सीमा बसेर कागजमा लेख्ने मात्रै शिक्षामा हामी रुमलिँयौँ भन्ने बताएका छन्। 

प्रगतिशील इन्जिनियर्स एशोसिएशन नेपाल (पिन) को मंगलबार ललितपुरको कुपण्डोलमा आयोजित दशौँ महाधिवेशनमा मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले बेरोजगार उत्पादन गर्ने शिक्षाका कारण युवाहरू देशमा काम गर्न नसकेर बाहिर जान थालेको बताए। 

"आफैंले बनाए चिया पनि खान नसक्ने, नेपालभित्र भएको अवसरमा काम नै गर्न नसक्ने अवस्था छ। भैंसी दुहुन, घाँस काट्न पनि आउँदैन, जीवन र उत्पादनसँग शिक्षा जोडिन सकेन, कुर्सीमा बसेर कागजमा लेख्ने मात्रै शिक्षामा हामी रुमलिँयौँ," उनले भने। 

प्रधानमन्त्री ओलीले नेपाली विद्यार्थी बाहिर गएर पढेको विषयमा चिन्ता लिनुभन्दा पनि नेपालमा उन्नत र उद्यमशीलता प्रवर्द्धन गर्ने शिक्षा प्रणालीलाई खुलापनका साथ अवसरको सिर्जना गर्ने वातावरण दिनुपर्ने बताए। उनले वर्तमान समयअनुसार मजबुत संरचना निर्माण आवश्यक रहेको बताउँदै त्यसमा इन्जिनियरहरूको ध्यान जानुपर्नेमा जोड दिए। 

"हाम्रो देशमा पहाडी संरचना भएकाले पहिरो जाने समस्या छ। इन्जिनियरहरूले यो परिवेशलाई बुझेर भौगर्भिक अवस्थाको मूल्यांकन गरेर सुरक्षित संरचना निर्माणमा ध्यान दिनुपर्छ। खतरायुक्त स्थानमा संरचना बनाउनु हुँदैन। कानूनी कुरामा भएका समस्या सुधार गर्न सुझाव आओस्, सरकारले त्यसमा ध्यान दिनेछ। हामी हाम्रो देश बनाउँछौँ," उनले भने। 

प्रधानमन्त्री ओलीले इन्जिनियरिङ क्षेत्रबाट गरिने कामहरूमा नीतिगत तथा योजना तर्जुमा प्रक्रियामा देखिएका कमजोरीलाई कसरी अधिकतम जनतालाई सुविधा पुर्‍याउन सकिन्छ भनेर सरकारलाई सुझाव दिन आग्रह गरे।

"हामी सुखी नेपाली, समृद्ध नेपाल साकार पार्न लागि परेका छौँ। प्रतिपक्षको भूमिका रचनात्मक र सकारात्मक हुनुपर्नेमा सरकारलाई बदनाम गर्न मात्रै लागेको देखिन्छ। तर हामी कतै डाइभर्ट हुँदैनौँ," प्रधानमन्त्रीले भने। 

उनले वि.सं. २०४६ पछि देश तीव्र विकासको गतिमा अगाडि बढेको बताउँदै आफू प्रधानमन्त्री हुँदा भूकम्पले देश थिलथिलो परेको अवस्थामा "बिल्ड बिटर" को नारा दिएर पुनर्निर्माणमा लागेको स्मरण गरे। 

"देशमा पूर्वाधार विकासबिना समृद्धि सम्भव छैन। पूर्वाधारको विकासले बजार सिर्जना गर्छ, उद्यमशीलता प्रवर्द्धन गर्छ। बलियो पूर्वाधार निर्माणमा यहाँहरूको योगदानप्रति धन्यवाद छ। यसको प्रशंसा गर्न चाहन्छु," प्रधानमन्त्रीले भने। 

उनले दिनरात हवाईजहाज सञ्चालन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरिसकेको बताउँदै नेपालले गर्न सक्छ भन्ने देखिँदै गएको उल्लेख गरे। 

"विमानस्थल बनिरहेका छन्, पुल, ट्रान्समिसन लाइन बनिरहेका छन्। केही पनि भएन, देश खत्तम भयो भन्ने हल्ला निराधार छ," उनले भने।

प्रधानमन्त्री ओलीले नयाँ शिक्षा प्रणालीले नेपालको शिक्षालाई रोजगारविहीन बनाएको धारणा राखे। उनले उद्यम गर्नेलाई धरौटी लिएर होइन, योजनालाई विश्वास गरेर ऋण दिएर काम गर्ने अवसर सिर्जना गर्नुपर्ने बताए। 

"१५ वर्षसम्म ऋण तिर्ने वातावरण दिनुपर्छ। व्यवसाय गरेर तिर्न सक्ने अवस्था नभएपछि मानिस फ्रस्टेसनमा जान्छ, यो हुनुहुँदैन," उनले भने। 

प्रगतिशील इन्जिनियर्स एशोसिएशनका अध्यक्ष ई. डा. सुरज लामिछानेले २०४७ सालमा इन्जिनियरिङ स्टडी ग्रुपको रूपमा स्थापित संगठन एमाले पार्टीको जनवर्गीय संगठनको रूपमा क्रियाशील रहेको जानकारी गराए। उनले प्राविधिक रूपमा पार्टीलाई सहयोग गर्ने र प्राविधिकमैत्री नीति निर्माणका लागि पहल गर्ने एशोसिएशनको अभिप्राय रहेको बताए।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.