add

देउवाकाे एकलाैटी निर्णय विरुद्ध 'गोप्य भेला' गर्दै पौडेल पक्ष






ActPro Nepal

|

१९ फागुन, २०७६

|
1085

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेलेरै जाने नीति लिएपछि विपक्षी रामचन्द्र पौडेल खेमाले काउन्टर गर्न थालेको छ। 

महाधिवेशन घोषणापछि केही मत्थर भएको विवाद सभापति शेरबहादुर देउवाले लामो समयदेखि गठन हुन नसकेका विभाग विस्तार गरेपछि फेरि विवाद चर्किएको छ।

सभापति देउवाले शनिवार १३ विभाग गठन गरेका थिए भने ५ जना नेतालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए।

महाधिवेशन आउन एक वर्षमात्रै बाँकी छँदा सभापति देउवाले एकलौटी ढंगले विभाग गठन गरको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष रुष्ट बनेको हो ।

महाधिवेशनको मिति तय भइसकेको अवस्थामा पार्टीभित्र आफूलाई सर्वमान्य बनाउन सभापति देउवाले आफूखुसी विभाग गठन गरेको आरोप पौडेल पक्षको छ।

देउवाविरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न पौडेल पक्षले आइतबार हेटौंडामा भेलासमेत आयोजना गरेको छ । भेलामा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायत नेता सहभागी थिए।

पार्टीको ‘बागमती प्रदेशका वर्तमान तथा पूर्व सभापतिहरुको भेला’ नाम दिइए पनि उक्त भेला पौडेल पक्षको रणनीति बनाउने भेला भएको स्रोतको दाबी छ।

भेलाले पार्टी सभापति देउवाविरुद्ध योजनावद्ध ढंगले उत्रने र आगामी महाधिवेशनबाट देउवाको हातबाट नेतृत्व फुत्काउने निष्कर्ष निकालेको स्रोत बताउँछ। देउवाविरुद्ध आक्रामक रुपमा उत्रने र अहिलेदेखि नै जिल्लामा अभियान सञ्चालन गर्ने निर्णय भेलाले गरेको सहभागी एक पू्र्व जिल्ला सभापतिले बताए ।

महाविधेशनको मिति तोकिएर आचार संहितासमेत लागू भइसकेको सभापति देउवाले विभाग गठन गर्नुलाई पौडेल पक्षले देउवाको महाधिवेशनको तयारीका रुपमा बुझेको छ ।

भेलाका लागि हेटौंडा गएका पौडेलसहितका नेताहरुले पत्रकार सम्मेलन आयोजना गरी विभाग गठनबारे सभापतिको खुलेरै विरोध गरे । वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले पैसा र पद बाँडेर सर्वेसर्वा हुन खोजेको आरोप लगाए । ‘पार्टीको महाधिवेशनका लागि आचारसंहिता लागू भइसकेको छ । यस्तो अवस्थामा पार्टी सभापतिले नीतिभन्दा बाहिर गएर विभाग गठन गर्नुभयो, यो काम गलत हो,’ उनको भनाइ थियो।

पैसा र पद बाँडेर पार्टीमा आफ्नो वर्चश्व बढाउनेतर्फ देउवा लागेको आरोप पनि पौडेलले लगाए। पार्टी नेतृत्व सही ढंगले अगाडि बढ्न नसक्दा कांग्रेसले संसदमा प्रतिपक्षीको भूमिका पनि राम्रोसँग निर्वाह गर्न नसकेको उनको भनाइ थियो ।

केन्द्रीय सदस्य रामशरण महतले सभापति सभापतिमा को लड्ने भन्ने विषय पछि टुंगो लाग्ने भन्दै अहिले सबैले आफ्नो स्थानबाट चुनावको तयारी गर्नुपर्नेमा जोड दिए। देउवा इतर समूहबाट सभापतिको उम्मेदवार को हुने भन्ने टुंगो लागेको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल स्वाभाविक दाबेदार हुन् । शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला लगायतका आकांक्षीहरु पनि छन् ।

महामन्त्री शशांक कोइरालाले १४ औं महाधिवेशन प्रारम्भ भइसकेको अवस्थामा पार्टी सभापतिले विभाग गठन गरेर गलत गरेको बताए। चार वर्षसम्म विभाग गठन गर्न नसक्ने अनि अहिले आएर विभाग गठन गरिएको भन्दै उनले आपत्ति जनाए।

केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टी सभापतिले महाधिवेशनलाई प्रभावित पार्ने गरी विभाग गठन गरेको तर्क गरे।

देउवाले आफ्नो चार वर्षे कार्यकाल सकिनुअघि १३ वटा विभाग विस्तार गर्दै पाँचजना नेतालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेपछि कांग्रेसमा विवाद चर्किएको हो।

यसबाट चिढिएको पौडेल पक्षले पर्साको वीरगञ्जमा हिजो ९शनिबार० २ नम्बर प्रदेश स्तरीय कार्यकर्ता भेलाको आयोजना गरेको थियो। हिजोको भेलामा पनि वरिष्ठ नेता पौडेल, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा रामशरण महत, बलबहादुर केसी, मीनेन्द्र रिजाल, सुजाता कोइराला, प्रदेश २ का आठवटै जिल्लामा रहेका पौडेल समूहका नेता–कार्यकर्ता सहभागी थिए ।

भेलामा जिल्ला सभापति र सांसद भने उपस्थित थिएनन्। सभापति देउवाले महाधिवेशनको कार्यतालिका सार्वजानिक भइसकेपछि विभाग गठन गरेको भन्दै भेलाले त्यसको विरोधमा प्रस्ताव पारित गरेको थियो।

संस्थापन पक्षले भने सभापति देउवाले विधानअनुसार नै विभाग विस्तार र आमन्त्रित केन्द्रीय सदस्यहरूको मनोनयन गरेको दाबी गर्दै आएको छ। पार्टीको विधानले नै सभापतिलाई केन्द्रीय विभाग गठन गर्ने अधिकार दिएको संस्थापनको तर्क छ।

सभापति देउवाले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई नेपाली जनसम्पर्क समिति समन्वय विभाग, शिवप्रसाद हुमागाईंलाई श्रमिक तथा ट्रेड युनियन विभाग र चिनकाजी श्रेष्ठलाई उद्योग व्यापार विभागको जिम्मेवारी दिएका छन्।

संस्थापन इतर पक्षको बहिष्कारका बीच गत पुस ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले २८ वटा विभागलाई बढाएर ४७ बनाउने निर्णय गरेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.