काठमाडौँ । काठमाडौं महानगरपालिकाले सुलभ फार्मेसी संचालनको तयारी थालेको छ । महानगरले आधारभूत स्वास्थ्य सेवा अन्तर्गत निःशुल्क औषधि, स्वास्थ्य बीमा अन्तर्गतको औषधि र बीमामा आवद्ध नभएका नागरिकहरूका लागि सर्वसुलभ औषधि तथा औषधिजन्य सामग्रीहरू जेनेरिक फार्मेसीको अभ्यास अनुसार उपलब्ध गराउन सुलभ फार्मेसी सञ्चालन गर्ने भएको हो ।
महानगरले सुलभ फार्मेसीमा बिक्री गरिने औषधिको प्रकार र मात्रा अध्ययन गर्ने भएको छ । महानगरको सुलभ औषधि पसल सञ्चालन व्यवस्थापन समितिको बैठकले, बबरमहलस्थित हाल वडा कार्यालय सञ्चालन भइरहेको भवनमा सुलभ फार्मेसी सञ्चालन गर्ने निर्णय गरेको हो ।
त्यस्तै, केन्द्रीय फार्मेसी सञ्चालनका लागि स्थान उपलब्धताका विषयमा छलफल चलाउने, फार्मेसीका लागि आवश्यक पर्ने औषधिको प्रकार र मात्रा अध्ययन गर्ने निर्णय गरेको छ ।
औषधिको ब्राण्ड नामका आधारमा नभइ औषधिमा भएका तत्वका आधारमा बिरामीलाई औषधि प्रदान गर्ने प्रणाली जेनेरिक फार्मेसी हो । यसलाई व्यवस्थापन गर्न महानगरपालिकाले २०८१ सालमा फार्मेसी सञ्चालन तथा नियमन सम्बन्धी निर्देशिका जारी गरेको छ । यही निर्देशिका अनुसार महानगरपालिकाले औषधि पसलहरूको नियमन गर्न सकिन्छ ।
महानगरपालिका मातहतमा भएका र अन्य फार्मेसीहरूको सञ्चालन व्यवस्थापन गर्न गराउन उपप्रमुखको सुनिता डंगोलको संयोजकत्वमा ४ सदस्यीय समिति गठन भएको छ । प्रमुख प्रशासकीय अधिकृत र फार्मेसी विज्ञमध्येबाट म्रमुखले मनोनयन गरेको विज्ञ सदस्य छन् भने स्वास्थ्य विभागको प्रमुख सदस्य सचिव छन् ।
महानगरपालिकाले एउटा केन्द्रीय फार्मेसी र अन्य विभिन्न ५ ठाउँमा फार्मेसी सञ्चालन गर्ने लक्ष्य लिएको छ । उत्पादकदेखि उपभोक्तासम्म सुपर थोक विक्रेता, थोक विक्रेता, खुद्रा विक्रेताको कमिसन, कतिपय औषधिमा दिइनेछ बोनस जस्ता तहका कारण औषधिको मूल्य चर्को भएको उपभोक्ताहरूको गुनासो सुनुवाई गर्दै महानगरपालिकाले सुलभ फार्मेसी सञ्चालन गर्न लागेको उपप्रमुख डंगोलको भनाइ छ ।
सुलभ फार्मेसी सञ्चालनले सर्वसाधारणलाई उपचारात्मक स्वास्थ्य सेवामा ठुलो राहत हुनेछ । छलफलमा शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले, महानगरको जनघनत्व र भूगोलको क्षेत्रफल समेतलाई ध्यानमा राखेर थप ५ वटा स्थानमा सुलभ फार्मेसी खोल्ने योजना रहेको र हालका लागि यो नमूना कार्यक्रमका रुपमाको सञ्चालन गर्न लागिएको बताए । यसबाट प्राप्त हुने अनुभव, सिकाइ र पृष्ठपोषनका आधारमा थप स्थानहरूमा सुधार गर्दै विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए ।
यसरी सञ्चालन हुने फार्मेसीबाट प्रेस्क्राइभर (औषधि लेखिदिने डाक्टर) प्रभावमा पार्ने जोखिम सकिन्छ । यसो हुनु भनेको स्वार्थ प्रेरित औषधि दिने क्रम सकिनु हो । यसले औषधिको गुणस्तर र मूल्य सुनिश्चित हुन्छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।