काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले अन्तर्राष्ट्रिय स्तरको दोस्रो वमन लिडरसिप समिट २०२५ आयोजना गर्ने भएको छ ।
सीएनआईले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयसँगको सहकार्यमा आगामी चैत ३ गते काठमाडौंमा उक्त सम्मेलन गर्न लागेको हो ।
सम्मेलन आयोजनाको लागि सीएनआई वमन लिडरसिप फोरमले संयोजन गरेको छ । सम्मेलनको समुद्घाटन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् ।
सम्मेलनमा प्रविधि र इनोभेसन, वमन इन सष्टेनेवल एग्रिकल्चर, इन्भेष्टिङ इन वमन, बीवेण्ड बाउन्ड्रिज विषयमा सत्रगत रुपमा छलफल हुनेछ ।
मंगलबार परिसंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले महिला नेतृत्व शिखर सम्मेलनले परिवर्तन प्रेरित महिला नेतृत्व, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूलाई एउटै थलोमा ल्याउने र नीतिगत तहमा नेपाल सरकार, सरोकारवाला निकायहरुले लिनुपर्ने नीतिगत विषयमा गहन रुपमा छलफल हुने बताए ।
यो शिखर सम्मेलन वर्तमान एवं सफल उदाहरणहरूमा केन्द्रित हुनेछ, जसले महिलाहरुलाई प्रेरित गर्नेछ । सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, स्वास्थ्य, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त महिलाहरुसहित करिब ५०० जनाको सहभागिता हुने सीएनआई महिला नेतृत्व फोरमकी सभापति छाया शर्माले बताए ।
परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले यस्ता सम्मेलनले महिलाहरुलाई अगाडी बढाउन सहयोग पुग्ने बताए ।
टाइटल स्पोन्सर नबिल बैंकका उपमहाप्रबन्धक आदर्श बजगाईले महिलाहरुलाई अगाडि बढाउन बैंकले सहयोग गर्दै आइरहेको र सोही अनुरुप यस सम्मेलनमा पनि बैंक आवद्ध भएको बताए ।
सम्मेलनमा मेक इन नेपाल स्वदेशी वस्तुहरुको प्रदर्शनी समेत गरिनेछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।