add

कुखुराको मासु र अण्डा उत्पादनमा उच्च गिरावट, मूल्य बढ्यो






ActPro Nepal

|

१६ पुष, २०८१

|
100

चितवन । नेपालमा आत्मनिर्भर रहेको पोल्ट्रीजन्य उत्पादनमा उल्लेख्य रूपमा गिरावट आएपछि किसान र व्यवसायी पेसाबाट विस्थापित हुने अवस्था आएको सरोकारवालाले दाबी गरेका छन् ।

नेपाल कुखुरा व्यवसायी मञ्चले आयोजना गरेको अन्तरक्रियामा वक्ताहरूले व्यवसाय निकै सङ्कटको अवस्थामा पुगेको गुनासो गरे । मञ्चका अध्यक्ष रघुनाथ भट्टले कोरोना महामारी अघिसम्म हरेक साता ५० लाख ब्रोइलर चल्ला उत्पादन हुने गरेकोमा हाल ३० लाख हाराहारीमा झरेको बताए ।

यसैगरी, लेयर्स चल्ला साताको ३ लाखबाट १ लाखमा झरेको, कलर ब्रोइलर (गिरिराज) सातामा ५ लाख उत्पादन हुने गरेकामा २ लाखमा झरेको, दैनिक ६० लाख गोटा अण्टा उत्पादन २४ लाखमा सीमित भएको तथ्याङ्क प्रस्तुत गरे । चल्लाको उत्पादन घटेसँगै दानाको खपत घटेको उनको भनाइ छ । उनका अनुसार दैनिक १२ हजार मेट्रिक टन दाना उत्पादन हुँदै आएको हाल ३ हजार ५०० टनमा झरेको छ।

मासु दैनिक १० लाख किलोबाट ६ लाखमा झरेको भट्टले जानकारी दिए । उनले भने, ‘आधाभन्दा बढी उत्पादन घटेपछि सोही अनुपातमा किसान विस्थापित हुन पुगेका छन् ।’

नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले लामो समयपछि अण्डाको लागत मूल्य पाउन थालेको बताए । लेयर्स कुखुरा पाल्ने ७५ प्रतिशत किसान विस्थापित भएको उल्लेख गर्दै उनले भने ‘साना किसान धेरै विस्थापित भएका छन्, ठूलाले केही धानेका छन् ।’ बैंकको ऋण बढाएर र पैतृक सम्पत्ति बिक्री गरेर ठूला फर्महरूले जोखिम मोल्दै उत्पादन गरिरहेको उनको भनाइ छ ।

ठूला फर्मकै कारण किसान ७५ प्रतिशत विस्थापित हुँदा उत्पादन आधा भएको उनले उल्लेख गरे । उनले भने ‘अहिले पनि हामी उच्च जोखिममा काम गर्न बाध्य छौँ ।’ १० हजारदेखि ४ लाखसम्म कुखुरा पाल्नेलाई ठूला किसानको रूपमा लिने गरिएको छ ।

ह्याचरी उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछानेले एउटा ब्रोइलर चल्ला उत्पादन गर्न ७० रुपैयाँ खर्च हुने भए अहिले ३० रुपैयाँमा बिक्री गर्नुपर्ने बाध्यता रहेको बताए । यस्तै १४० रुपैयाँमा तयार हुने लेयर्स चल्ला ७० रुपैयाँ हाराहारीमा बिक्री गर्नु पर्दा धेरै विस्थापित हुनुपरेको बताए । ३८० वटा ब्रोइलर ह्याचरी रहेकोमा अहिले ७० वटा कम क्षमतामा चलेको र अरु बन्द भएको उनले बताए ।

यस्तै, १५ वटा लेयर्स ह्याचरीमध्ये ५ वटा मात्रै सञ्चालनमा आएको लामिछानेले जानकारी दिए । उनले भने, ‘जग्गा लिलाम हुने अवस्थामा छ, राज्यले हेरेन ।’ सहुलियत कृषि ऋण हटेको भन्दै उनले चल्ला उत्पादन गर्ने माउ झिकाउनका लागि आर्थिक अभाव हुँदा ह्याचरीहरू बन्द हुने अवस्थामा पुगेको उनले बताए ।

चल्ला बिक्री गर्नेलाई मात्रै होइन, ब्रोइलर पाल्ने धेरै विस्थापित भएको उनले बताए । ब्रोइलर कुखुरा जिउँदो प्रतिकेजी २५० लागत मूल्य पर्ने भए अहिले किसानले १८० रुपैयाँमा बिक्री गर्नुपर्दा निरन्तरको घाटाले धेरै विस्थापित भएको उनको दाबी छ ।

मञ्चका वरिष्ठ उपाध्यक्ष डा. रवन्तकुमार भट्टराईले जनचेतनाको अभावमा अण्डा र मासुको खपत कम भएको बताउँछन् । उनले भने, ‘एसियाली मुलुकमा एक जनाले वार्षिक १०८ वटा अण्डा र ४९ किलो मासु खपत गर्नुपर्नेमा नेपालमा ६२ वटा अण्डा र ८ किलो मासु मात्रै खपत छ ।’

५ वर्षसम्मको बालबालिकालाई कुपोषणबाट बचाउन अण्डा र मासुको उपभोग गर्नुपर्ने भन्दै उनले यसो हुन नसकेको बताए । उनले भने, ‘नेपालमा प्रोटिनको उपभोग निकै कम छ ।’

मञ्चका महासचिव ज्ञानबहादुर विसुरालले लागत मूल्य बढेको र उत्पादनले सोअनुसार मूल्य नपाउँदा आत्मनिर्भर यो व्यवसाय सङ्कटमा परेको बताए । उनले भने, ‘यही अवस्था रहेमा केही वर्षमा पोल्ट्री व्यवसाय समाप्त हुन्छ ।’

यसैबीच १२औँ राष्ट्रिय पोल्ट्री दिवस यस वर्ष चितवनमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । त्यसअवसरमा पोल्ट्रीसम्बन्धी नीति नियम, पोल्ट्रीको वर्तमान अवस्थाबारे छलफल पनि हुनेछ । अण्डा र मासुमा पाइने पौष्टिक तत्वबारेमा चिकित्सकहरूबाट विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । पुस १७ गतेलाई राष्ट्रिय पोल्ट्री दिवसका रूपमा मनाइँदै आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.