add

जीवन बीमा कम्पनीले ४ महिनामै गरे ५३ अर्बको व्यापार, कुनले कति ?






ActPro Nepal

|

१८ मंसिर, २०८१

|
54

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु अर्थिक वर्ष २०८१/८२ को ४ महिनामै आधा खर्ब रुपैयाँ बढीको व्यवसाय गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आवको कात्तिकसम्म १७ जीवन बीमा (१४ जीवन बीमा र ३ लघु जीवन बीमा) कम्पनीले कुल ५३ अर्ब ६९ करोड ९० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

गत आवको सोही अवधिको तुलनामा चालु आवमा जीवन बीमा व्यवसाय ८.६१ प्रतिशत अर्थात ४ अर्ब २६ करोड रुपैयाँले बढेको हो । गत वर्ष कात्तिकसम्म जीवन बीमा कम्पनीहरूले कुल ४९ अर्ब ४४ करोड ११ लाख रुपैयाँ बीमा शुलक संकलन गरेका थिए ।

चालु आवको कात्तिकसम्म १४ जीवन बीमा कम्पनीले मात्रै ५३ अर्ब ३९ करोड रुपैयाँ र ३ लघु जीवन बीमा कम्पनीले ३० करोड ५७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

यस अवधिमा जीवन बीमा कम्पनीहरूले नयाँ व्यवसाय खासै बढाउन नसके पनि पुरानै पोलिसी नवीकरणले व्यवसाय धानेको देखिन्छ । कुल व्यवसायमा पोलिसी नवीकरणबाट उठेको बीमाशुल्कको हिस्सा ७९.४९ प्रतिशत रहेको छ । नयाँ पोलिसी बिक्रीबाट २०.५१ प्रतिशत मात्रै बीमा शुल्क संकलन गरेका छन् ।

कात्तिकसम्म जीवन बीमा कम्पनीहरूले प्रथम बीमा शुल्क बापत १० अर्ब ५६ करोड र नवीकरण शुल्क बापत ४२ अर्ब ६९ करोड रुपैयाँ संकलन गरेका छन् ।

जीवन बीमा कम्पनीले कात्तिकमा मात्रै १३ अर्ब ४७ करोड रुपैयाँको व्यवसाय गरेका छन् । कात्तिकमा ३ लाख ६८ हजार ९५६ वटा पोलिसी जारी गरेका छन् । कात्तिकसम्म जीवन बीमा कम्पनीहरूको कुल सक्रिय बीमालेख संख्या १ करोड ३८ लाख ४ हजार ६४७ वटा रहेका छन् ।

पछिल्लो अर्थतन्त्रमा सुधारका संकेत देखिँदा बीमा व्यवसायमा पनि सुधार आएको हो । पछिल्ला महिनाहरुमा नयाँ पोलिसी बिक्री हुने क्रम बढ्दो छ ।

नेपाल लाइफकै वर्चश्व

जीवन बीमा व्यवसायमा नेपाल लाइफ इन्स्योरेन्सकै वर्चश्व रहेको छ । कात्तिकसम्म संकलित कुल बीमा शुल्क मध्ये नेपाल लाइफ एक्लैले एकचौथाई बढी बीमा शुल्क संकलन गरेको छ । नेपाल लाइफले मात्रै १५ अर्ब ४० करोड रुपैयाँ संकलन गरेको छ । यो कुल व्यवसायको २८.७० प्रतिशत हिस्सा हो ।

जीवन बीमा व्यवसायमा नेशनल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा छ । कात्तिकसम्म यसले ६ अर्ब ४३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

तेस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी)ले ६ अर्ब ५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । कुल व्यवसायमा नेशनलको हिस्सा ११.९७ प्रतिशत र लाइफ इन्स्योरेन्सको ११.२७ प्रतिशत रहेको छ ।

साविकका ३ कम्पनी मर्ज भई दोस्रो ठूलो जीवन बीमा कम्पनी बनेको हिमालयन लाइफ भने व्यवसायमा चौथो स्थानमा रहेको छ । यसले कात्तिकसम्म ५ अर्ब ५८ करोड बीमा शुल्क संकलन गरेको छ । चुक्ता पूँजी नेपाल लाइफकै हाराहारीमा रहे पनि व्यवसायमा नेपाल, नेशनल र एलआइसीभन्दा पछि परेको हो ।

कात्तिकसम्म सूर्यज्योति लाइफले ३ अर्ब २५ करोड, एशियन लाइफ २ अर्ब ७४ करोड, सिटिजन्स लाइफ २ अर्ब १९ करोड, सानिमा लाइफ २ अर्ब ६ करोड, राष्ट्रिय जीवन बीमा १ अर्ब ७७ करोड, मेट लाइफ १ अर्ब ८७ करोड, प्रभु महालक्ष्मी लाइफ १ अर्ब ६३ करोड, रिलायबल नेपाल लाइफ १ अर्ब ५६ करोड र आइएमई लाइफले १ अर्ब ५३ करोड बीमा शुल्क संकलन गरेका छन् ।

यस अवधिमा सन नेपाल लाइफले सबैभन्दा कम १ अर्ब २८ करोड रुपैयाँ प्रिमियम उठाएको छ ।

लघुबीमाको हिस्सा ०.५७ प्रतिशत

समीक्षा अवधिमा लघु जीवन बीमा कम्पनीको व्यवसाय भने न्यून रहेको छ । गत वर्षदेखि संचालनमा आएका ३ लघुबीमा कम्पनीले चालु आवको कात्तिकसम्म कुल ३० करोड ५७ लाख रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेका छन् । यो कुल व्यवसायकको ०.५७ प्रतिशत मात्र हो । यद्यपि, पछिल्ला महिनाहरूमा लघु जीवन बीमा कम्पनीहरूले व्यवसाय क्रमशः बढाउँदै लगेका छन् ।

कात्तिकसम्म गार्डियन माइक्रो लाइफले ११ करोड ९० लाख, क्रेष्ट माइक्रो लाइफले ११ करोड १५ लाख र लिबर्टी माइक्रो लाइफले ७ करोड ७२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.