add

बैंकहरु कर्जा लगानीमा आक्रामक






ActPro Nepal

|

४ कार्तिक, २०८१

|
33

काठमाडौं । बैंकहरु कर्जा लगानीमा आक्रमक देखिएका छन्।  २ वर्षदेखि शिथिल रहेको अर्थतन्त्र क्रमशः चलायमान हुन थालेसँगै बैंकहरू कर्जा विस्तारमा केन्द्रित हुन थालेका हुन् ।

डेढ वर्षदेखि सुस्त रहेको कर्जा लगानी भदौ र असोज (२२ गतेसम्म) मा भने ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो दुई महिनामा मात्रै १ खर्ब ५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । बैंकहरूले भदौमा ५३ अर्ब र असोजमा ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका हुन् ।

गत साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५१ खर्ब ७१ अर्ब रुपैयाँ रहेकोमा असोज मसान्त आइपुग्दा बढेर ५२ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ ।

यस आधारमा भदौ र असोजमा बैंकहरूले औसतमा दैनिक २ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जबकि चालु आवको साउनमा बैंक तथा वित्तीय संस्थाहरूले जम्मा २ अर्ब १२ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । साउनमा बैंकहरू कर्जा विस्तारमा भन्दा रिकभरीमा केन्द्रित भएका थिए ।

त्यस्तै, पछिल्लो दुई महिनामा बैंकिङ प्रणालीमा १ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप थपिएको राष्ट्र बैंकको तथ्यांक छ । जसमा भदौमा ७४ अर्ब रुपैयाँ र असोजमा ९४ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । गत साउन मसान्तमा ६४ खर्ब ४७ अर्ब रहेको कुल निक्षेप असोज मसान्त् आइपुग्दा बढेर ६६ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ ।

पछिल्लो समय अर्थतन्त्र क्रमशः चलायमान हुँदै जाँदा कर्जाको माग बढ्न थालेको हो । साथै, चाडवाडका कारण सामान आयातका लागि व्यापारीले धमाधम एलसी खोल्दा ऋण लगानी ह्वात्तै बढेको हो ।

नेपाल राष्ट्र बैंकको नीतिगत लचकता र घट्दो ब्याजदरले पनि कर्जाको माग बढाउन सहयोग पुर्याएको छ । अहिले पनि उत्पादनमूलक क्षेत्रमा कर्जाको माग बढ्न नसके पनि अटो कर्जा, सेयर कर्जा, घरजग्गा र व्यापार कर्जाको माग बढेको बैंकरहरू बताउँछन् ।

भदौमा सम्पन्न नाडा अटो शोमा ४ हजार बढी गाडी बुकिङ भएका थिए । त्यतिबेला गाडी बुकिङ गरेकाहरूले दशैंमा बैंकबाट ऋण लिएका हुन् ।

त्यस्तै, सेयर कर्जामा राष्ट्र बैंकले संस्थागततर्फको २० करोडको सीमा खारेज गरेपछि ठूला लगानीकर्ताहरूले धमाधम ऋण लिन थालेको बैंकरहरू बताउँछन् । सस्तो ब्याजदर र राष्ट्र बैंकको लचकतासँगै सेयर कर्जाको माग बढेको बैंकरहरूको भनाइ छ । गत वर्षदेखि नै सेयर कर्जाको माग बढ्दो क्रममा थियो । चालु आवको दुई महिनामा मात्रै झण्डै १० अर्ब सेयर कर्जा लगानी गरेका छन् । जसमा भदौमा मात्रै सवा ८ अर्ब सेयर कर्जा लगानी गरेका थिए ।

त्यस्तै, दशैं, तिहार लगायत ठूला चाडपर्वका कारण पनि व्यापार कर्जाको माग बढेको हो । दशैं, तिहारमा अन्य समयकोभन्दा उपभोग्य वस्तुको माग बढ्ने भएकाले व्यापारीहरूले धेरै आयात गर्छन् । जसले बैंकमा ऋणको माग बढाएको देखिन्छ ।

व्यापार, घरजग्गा, सेयर, अटो कर्जाको माग बढे पनि अर्थतन्त्र चलायमान बनाउने औद्योगिक क्षेत्रमा भने कर्जाको माग बढ्न सकेका छैन । निर्माण क्षेत्र सुस्त हुँदा सिमेन्ड, डण्डी लगायत वस्तुको माग बढ्न सकेको छैन ।

अहिले बैंकिङ प्रणालीमा साढे ६ खर्ब रुपैयाँ बढी तरलता थुप्रिएको छ । ब्याजदर पनि २ वर्ष यताकै सस्तो भएको छ । तर, उपभोग्य वस्तुको माग र व्यवसायीको मनोवल बढ्न नसक्दा अपेक्षित रुपमा कर्जाको माग बढ्न सकेका छैन ।

आर्थिक संकुचनकै कारण गत वर्ष पनि कर्जा विस्तारको लक्ष्य आधा मात्रै पूरा भएको थियो । राष्ट्र बैंकले गत आव २०८०/८१ मा निजी क्षेत्रतर्फ साढे ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेकोमा ५.८ प्रतिशत मात्रै लगानी भएको थियो ।

चालु आवमा राष्ट्र बैंकले निजी क्षेत्रतर्फ १२.५ प्रतिशतको कर्जा विस्तार लक्ष्य राखेको छ । सो अनुसार ६ खर्ब रुपैयाँ बढी कर्जा लगानी गर्नुपर्छ । लक्ष्य अनुसार कर्जा लगानी गर्न बैंकिङ प्रणालीमा पर्याप्त तरलता भए पनि कर्जाको माग बढ्नेमा भने शंका छ । यद्यपि, बजारमा कर्जाको माग बढाउन राष्ट्र बैंक र सरकारले एकपछि अर्को नीतिगत लचकता अपनाउँदै आएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.