काठमाडौं । नेपाललाई आईसीसी यू–१९ विश्वकप क्रिकेटमा प्रवेश गराएका टिमका प्रत्येक सदस्यले नगद १ लाख पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ विश्वकपमा पुगेका टिमका प्रत्येक सदस्यलाई जनही एक लाख नगद पुरस्कार दिने घोषणा गरेको हो ।
आईसीसी यू–१९ विश्वकप क्रिकेट एसिया क्षेत्र छनोटमा घरेलु टिम यूएईलाई आज सात रनले पराजित गर्दै नेपाल आगामी वर्ष श्रीलंकामा हुने विश्वकपमा प्रवेश गरेको हो । खेलाडीको हौसला बढाउन क्यानले खेलाडीलाई सम्मान गर्ने निर्णय गरेको हो ।
१९२ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको यूएईले ४८ ओभरमा सबै विकेटको क्षतिमा १८४ रन मात्रै बनाएपछि नेपालले रोमाञ्चक जित निकालेको हो । यसअघि ब्याटिङ गरेको नेपालले खराब सुरुआत गर्दै ४८.५ ओभरमा सबै विकेटको क्षतिमा १९१ रन बनाएपछि यूएईले सामान्य चुनौती पाएको थियो ।
नेपालले पाँच खेलमा पाँचै जित निकाल्दै करिब आठ वर्षपछि विश्वकपमा प्रवेश गरेको हो । यसअघि नेपालले २०१६ मा बंगलादेशमा भएको यू–१९ विश्वकप क्रिकेट खेलेको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।