रौतहट । रौतहट-२ का स्वतन्त्र सांसद किरणकुमार साह नेकपा एमालेमा प्रवेश गरेका छन्। सोमबार साँझ आफ्नो निवास बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसद साहलाई एमालेमा प्रवेश गराएका हुन्।
ओलीले सांसद साहलाई खादा ओढाएर टीका लगाई विधिवत् रूपमा पार्टी प्रवेश गराएका थिए। गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार साहले तत्कालीन सत्ता गठबन्धनका उम्मेदवार तथा पुर्वमन्त्री मोहम्मद आफताब आलमका छोरा फिर्दोस आलमलाई झन्डै ७ हजार मतको अन्तरले पराजित गरी विजयी भएका थिए। आलम अहिले नख्खु कारागारमा छन्।
२०७७ सालमा जसपा परित्याग गरी एमालेमा प्रवेश गरेका साह गत निर्वाचनमा रौतहट २ मा एमाले जसपा गठबन्धनबाट जसपाका उम्मेदवार शैलेन्द्र साहले प्रतिनिधिसभा सदस्यको टिकट पाएपछि एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए।
प्रभु साह नेतृत्वको स्वतन्त्र जिताऊ अभियानमा भूमिका खेलेको भन्दै हालै गठन भएको आम जनता पार्टीमा किरण साहलाई विभागीय प्रमुखको जिम्मेवारी दिइएको थियो। तर स्वतन्त्र जिताऊ अभियान एक जनालाई जिताउन मात्र सक्रिय रहेको तथा आफूलाई क्षेत्र २ का जनताले मत दिएर जिताएको भन्दै आम जनता पार्टीको जिम्मेवारी लिन सांसद साहले अस्वीकार गरेका थिए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।