काठमाडौं । दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशय्यामा छटपटाइरहेकी कलाकार निशा घिमिरेको उद्धार गरिएको छ । नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले मोडल तथा कलाकार घिमिरेको बिहीबार उद्धार गरेकी हुन् ।
तीन वर्षअघिसम्म मिडियाहरुमा छाउने गरेकी मोडल निशा घिमिरेको अहिलेको अवस्था पत्याउनै नसक्ने ‘दर्दनाक’ रहेको छ । चलेकी मोडल निशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थिइन् ।
तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारतको देहरादून जाँदै गर्दा सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । दुर्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँको अस्पतालको उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए ।
काठमाडौंमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो । तर, उनको अवस्थामा सुधार हुन सकेन । त्यसपछि चिकित्सककै सल्लाहअनुसार उपत्यकाका विभिन्न थेरापी सेन्टरहरुमा लगातार थेरापी गरिएको थियो ।
नियमित थेरापी गर्न समेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमण समेत बढेपछि उनी घरमै थन्किएकी थिइन् ।
‘आमाबुबा दैनिक ज्यालादारी गर्न जानुपर्ने भएकोले उनको पर्याप्त हेरविचारसमेत हुन सकेन ।’ उनलाई नजिकबाट चिन्ने र उद्धारका लागि समन्वयकर्ताको भूमिका खेलेका नवजीवन परोपकार समाजका संचालक दुर्गानाथ दाहालले भने‚ ‘कलाकार घिमिरेको दर्दनाक अवस्थाको विषयमा मैले फेसबुकमा पोस्ट गरेको थिएँ, त्यसमा नर्भिककी प्रबन्ध निर्देशक चौधरीले चासो राख्नुभयो र उहाँले आफ्नो समन्वयमा उपचार प्रबन्ध मिलाउने भनेर उद्धार गर्ने व्यवस्था मिलाउनुभएको हो ।’
दाहालका अनुसार दुर्घटनाअघि ६० केजीभन्दा बढी तौल रहेको कलाकार घिमिरे आहार, हेरविचार र उचित उपचारको अभावमा सुकेर २० केजीमा सीमित भएकी छिन् । झट्ट हेर्दा ‘३ वर्षअघिकी कलकलाउँदी निशा नै अहिलेको अस्थिपञ्जर मात्र बाँकी रहेको मान्छे हो’ भनेर कसैले नपत्याउने दाहाल सुनाउँछन् ।
‘कोरोनाकालमा निशा बहिनीलाई केही सहयोग गर्न म उहाँको ललितपुरस्थित बतासेमा रहेको घरमा पुगेको थिएँ, अवस्था दर्दनाक देखेपछि मैले सहयोगको अपीलसहित पोष्ट गरेँ‚’ दाहालले भने‚ ‘मनकी धनी मेघा चौधरीज्यूले म उपचार गर्छु भनेर उद्धार गर्नुभयो । म धेरै खुशी छु । यो अवधिमा निशाको अवस्थाको बारेमा समाचारहरु समेत प्रकाशन भएका थिए । तर, उनलाई उद्धार गर्न, उचित उपचार व्यवस्था मिलाउन कसैले पनि सहयोग गरेनन् ।’
बिहीबार बिहान कलाकार घिमिरेको उद्धार गरिएको थियो । उनलाई लिन नर्भिक अस्पतालको एम्बुलेन्स गएको थियो । हाल उनको नर्भिक अस्पतालमा राखेर उपचार थालिएको छ ।
प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको छ । शरीरका महत्वपूर्ण अंगहरु जस्तै, मुटु, मिर्गौला, कलेजो, फोक्सोलगायतमा ठूलो समस्या देखिएको छैन ।
नर्भिकका चिकित्सकहरुले निशाको अवस्थामा सुधार हुने अपेक्षा गरेका छन् । ‘पहिलाजस्तै मोडलिङ नै गर्ने गरी त ठीक नहोला ।’ चिकित्सकहरुलाई उद्धृत गर्दै दुर्गा दाहालले भने‚ ‘तर कम्तिमा आफैं हिँडडुल गर्नसक्ने, आफैं खानसक्ने र केही बोल्नसक्नेसम्म पनि भयो भने पनि धेरै हुन्छ ।’
हाल निशा बोल्न सक्दिनन् । उनलाई अरुले नै खुवाइदिनुपर्छ । कसैले केही कुरा गर्यो भने सुन्छिन् र आँसु बगाउँछिन् तर जवाफ दिन वा अरुलाई रेसपोन्स गर्न सक्ने अवस्थामा छैनन् । ओछ्यान परेको ३ वर्षपछि उनको उद्धार भएकोमा उनका अभिभावक र छिमेकीसमेत खुसी छन् ।
‘यो कलियुगमा पनि भगवान हुँदा रहेछन् । मेरी छोरीलाई उद्धार गर्नेको भलो होस्‚’ निशाका बुबाले भने‚ ‘अबचाहिँ थोरै भए पनि उठ्छे कि भन्ने आशा पलाएको छ ।’
उद्धारकर्ता नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले घिमिरेको दर्दनाक अवस्था फोटोमा देखेपछि आफूले उद्धार गरेको बताइन् । अब आफ्नै समन्वयमा उनको सम्भव भएजति उपचार गरिने उनले जानकारी दिइन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.