काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव नजिकिँदै गर्दा चहलपहल बढ्न थालेको छ । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदमा किशोरकुमार प्रधानले आज उम्मेदवारी दर्ता गर्ने भएका छन्।
प्रधानले आफ्नो प्यानलसहित आज महासंघको केन्द्रीय कार्यालय टेकुमा गएर उम्मेदवारी दर्ता गर्ने तयारी गरेका हुन्। प्रधान समूहले अहिले ललितपुरस्थित भिभान्त होटलमा अन्तर्क्रिया कार्यक्रम गरिरहेको छ। उक्त कार्यक्रम सकेलगत्तै महासंघ कार्यालय जाने बताइएको छ।
महासंघको ५४औं साधारणसभा आगामी मंसिर ११ र १२ गते हुँदै छ। त्यसको भोलिपल्ट अर्थात् मंसिर १३ गते निर्वाचन हुनेछ।
प्रधान समूहबाट सौरभ ज्योतीले एसोसिएट उपाध्यक्ष, अञ्जन श्रेष्ठले वस्तुगत उपाध्यक्ष तथा दिनेश श्रेष्ठले जिल्ला/नगर उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरिएको छ।
वरिष्ठ उपाध्यक्षका लागि यसअघि चन्द्रप्रसाद ढकालले आफ्नो उम्मेदवारी दर्ता गरिसकेका छन्।
गत चैतमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड-१९ का कारण स्थगित भएको थियो।
त्यसयता पटक-पटक कोभिड-१९ का कारण महासंघको साधारणसभा तथा निर्वाचनको मिति लकडाउन र निषेधाज्ञाका कारण सर्दै आएको थियो।
Comment