काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् राम नेपालकै अयोध्यामा जन्मेको बताएपछि पुरातत्व विभागले अनुसन्धान शुरु गर्ने भएको छ । विभागले विभागकै पुरातत्व अधिकृतसहितको विशेष टोली माडी र ठोरी पठाउने भएको हो।
प्रम ओलीले गएको असार २९ गते भानुजयन्तीको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा अयोध्या नेपालमै रहेको र भगवान् रामचन्द्र नेपालमै जन्मिएका हुन् भन्ने अभिव्यक्ति दिएका थिए । प्रम ओलीले अभिव्यक्ति दिएपछि छिमेकी मुलुक भारतमा तरङ्ग उत्पन्न भएको थियो । सत्ताधारी दल भारतीय जनता पार्टीले उक्त अभिव्यक्तिप्रति खेद व्यक्त गरेको थियो ।
सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस लगायत सबै दलले प्रम ओलीको अभिव्यक्तिको चर्को आलोचना गरेका थिए । परराष्ट्र मन्त्रालयले भारतलाई एक नोट पठाएर सो अभिव्यक्ति प्रम ओलीको व्यक्तिगत धारणा भएको उल्लेख गरेको थियो ।
प्रम ओलीको सो भनाइ लगत्तै विभागले प्रमाण जुटाउन अनुसन्धान शुरु गरेको हो । सो क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले अनुसन्धान गरी प्रमाण जुटाउन पुरातत्व विभागलाई निर्देशन दिएको छ । विभागमा महानिर्देशक दामोदर गौतमसहितको टोली मन्त्रालयमा पुगेपछि मन्त्रालयले प्रमाण संकलन गर्न निर्देशन दिएको हो । गौतमको टोली असार ३० गते मन्त्रालय पुगेको थियो ।
मन्त्रालका उच्च अधिकारीसँगको छलफलमा महानिर्देशक गौतमले प्रारम्भिक अनुसन्धान गर्ने जिम्मा विभागको भएको भन्दै तत्काल टोली माडी र ठोरी खटाउने बताएका थिए । स्रोतका अनुसार विभागको टोलीले एक दुई दिनभित्र वाल्मीकि आश्रम, लवकुश जन्मिएको र सीता भासिएको स्थान, अयोध्यापुरी र अश्वमेघ यज्ञ भएको स्थान लगायतको बारेमा अनुसन्धान गर्ने तयारी गरेको छ ।
विभागका महानिर्देशक गौतमले विभागको काम अनुसन्धान गर्ने भएकाले सो विषयमा अध्ययन भइरहेको बताए। उनले भने,– ‘हामीले संस्कृतिविद्सँग छलफल गरिरहेका छौं, आवश्यक परे टोली खटाएर अनुसन्धान गर्नेछौं ।’
विभागले मुलुकको कार्यकारी प्रमुखले व्यक्त गरेको विषयमा गम्भीर अध्ययन गरिने जनाउँदै गोप्य रुपमा टोली गठन गरेको छ । विभागले केही प्रमाण नभेटिएसम्म अनुसन्धान फितलो हुने भन्दै सो पाटोलाई पूर्ण गोप्य राख्ने तयारी गरेको छ । नेपाल समाचारपत्रबाट ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।