काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक नियुक्ती गरेलगत्तै एआईजी बढुवाको तयारी समेत गरेको छ । नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई एआईजी बढुवाको तयारी गर्न सरकाले निर्देशन दिइसकेको छ ।
हाल नेपाल प्रहरीमा एआईजीका दुई पद रिक्त छन् । प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली र एआईजी ताराणी लम्शालले अवकास पाएसंगै प्रहरीमा दुई एआईजी पद रिक्त भएको हो ।
प्रहरीमा दुई एआईजी पदमा तीन डिआईजीबीच चर्को प्रतिस्पर्धा छ । बरियता, कार्यक्षमता र योग्यताका आधारमा डिआईजीहरु निरजबहादुर शाही र प्रद्युम्न कार्की स्वभाविक उम्मेदवार हुन् ।
उनिहरु हालका आईजीपी थापाका ब्याची समेत हुन् । डिआईजी शाही र कार्की ०७५ असोजमा प्रहरी नायब महानिरीक्षक (डिआईजी) मा बढुवा भएका हुन्। तर, एआईजी बढुवाका लागी हाल महानगरीय प्रहरी प्रमुख रहेका डिआईजी विश्वराज पोखरेल पनि प्रतिस्पर्धामा छन् ।
पोखरेल उनिहरुभन्दा एक वर्षपछि मात्र डिआईजीमा बढुवा भएका थिए । उनी डिआईजी सुशील भण्डारीको सवारी दुर्घटनामा निधन भएपछि उनको रिक्त स्थानमा ०७६ वैशाखमा डिआईजीमा एकल बढुवा भएका थिए ।
अहिले रिक्त दुई एआईजीमध्ये एकमा बढुवा नभए पोखरेल डिआईजीबाटै अवकासमा जानेछन् । त्यसैले उनि अहिले जसरी पनि एआईजी बन्ने दौडमा छन् ।
आफ्नो ब्याचबाट एकल डिआईजी भएका पोखरेल प्रहरी महानिरीक्षकका दाबेदार हुन् । कार्की र शाही एआईजीमा बढुवा भए पनि उनिहरु उक्त पदबाटै अवकासमा जानेछन् ।
तर, पोखरेल अहिले एआईजीमा बढुवा भएको अवस्थामा हालका प्रहरी महानिरीक्षक थापा ०७९ वैशाखमा अवकासमा गएसंगै प्रहरी महानिरीक्षकको एक्लो हकदार हुनेछन् ।
सरकारले नियुक्तीमा बरियता र कार्यक्षमतालाई आधार बनाएर निर्विवाद रुपमा थापालाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । त्यही मापदण्ड एआईजी नियुक्तीमा हुने अपेक्षा गरिएपनि पोखरेलको व्यवस्थापन सरकारलाई चुनौती भएको छ ।
असारभित्रै एआईजी बढुवा गर्ने तयारीमा गृहमन्त्रालय रहेको स्रोतको दावी छ । पोखरेलको हकमा एआईजीको दरबन्दी थप गर्नुपर्ने विकल्पमा समेत छलफल भएको छ । तर, एक जना व्यक्तिलाई बढुवा दिन एआईजीको दरबन्दी थप गर्ने कुरा पनि सरकारलाई त्यति सजिलो छैन् ।
यता, एआईजी बढुवामा संगठनको चेन अफ कमाण्ड बिग्रने गरी निर्णय गर्न नैतिक रुपमा सरकार र आईजीपी थापालाई समेत गाह्रो छ । यता डिआईजीमा एकल बढुवा गरिएका पोखरेल एआईजीमा बढुवा नभएको अवस्थामा अवकासमा जाने भएकाले उनको व्यवस्थापन गर्नुपर्ने बाध्यता सरकारलाई छ ।
वर्तमान सरकारले उनलाई प्रहरी महानिरीक्षक बनाउन एकल डिआईजीमा बढुवा गरेको थियो । तर, वरियतामा अघि रहेका र व्यवसायीक प्रहरी अधिकृतको छवी बनाएका शाही र कार्कीलाई पछि पारेर पोखरेललाई बढुवा गर्न पनि सरकारलाई सजिलो छैन् ।
यदि पोखरेल एआईजीमा बढुवा नभएको अवस्थामा उनि पछि डिआईजी भएका उनकै ब्याचका शहकुल थापा र वसन्त लामा र अरुण विसीमध्येबाट एक जना प्रहरी महानिरीक्षक बन्नेछन् ।
एआईजी बढुवालाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको पहिलो परीक्षा ठानिएको छ । स्रोतका अनुसार गृहले एआईजी र डिआईजी पदमा बढुवाबारे तयारी गर्न उनलाई भनिसकेको छ ।
पोखरेललाई एआईजी बढुवा गर्न प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेल सकरात्मक छन् । त्यतिमात्र होईन उनको पक्षमा खुलेरै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे र सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा लागेका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।