काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा करिब ७ लाख नेपाली श्रमिक रोजगारीको सिलसिलामा विदेशिएका छन्।
वैदेशिक रोजगार विभागका अनुसार गत साउनदेखि चैत मसान्तसम्मको अवधिमा नयाँ तथा पुनः श्रम स्वीकृति लिएर ६ लाख ७ हजार ८७४ जना नेपाली श्रमिक विदेशी भूमिमा पुगेका हुन्।
विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार, वैदेशिक रोजगारीमा जाने श्रमिकमध्ये पाँच लाख ३९ हजार ७१४ जना पुरुष छन् भने ६८ हजार १६० जना महिला रहेका छन्।
केवल चैत महिनामा मात्र ७३ हजार ४०३ नेपाली श्रमिक विदेशिएका छन्। तीमध्ये ६५ हजार ५६७ पुरुष र ७ हजार ८३६ महिला रहेका छन्।
अघिल्लो महिनाको तुलनामा चैतमा वैदेशिक रोजगारमा जाने श्रमिकको संख्या उल्लेख्य रुपमा बढेको छ। फागुन महिनामा ६८ हजार ९६३ जना श्रमिक श्रम स्वीकृति लिएर विदेशिएकोमा चैतमा यो संख्या झण्डै साढे चार हजारले बढेको हो।
वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकतर्फ हेर्दा, यूएई (संयुक्त अरब इमिरेट्स) नेपाली श्रमिकहरूको पहिलो रोजाइ बनेको छ। चैत महिनामात्र २३ हजार ६७१ जना श्रमिक यूएई गएका छन्।
त्यसपछि दोस्रो स्थानमा साउदी अरेबिया रहेको छ। एक महिनामा १४ हजार ७७ जना श्रमिक साउदी अरेबिया पुगेका छन्।
तेस्रो गन्तव्यको रुपमा कतार देखिएको छ, जहाँ चैत महिनामात्र ११ हजार १४५ नेपाली श्रमिक पुगेका छन्।
विदेशमा रोजगारी खोज्ने नेपालीको संख्या बढिरहेको अवस्थामा वैदेशिक रोजगार सुरक्षित र मर्यादित बनाउनुपर्ने आवाजसमेत चुलिएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।