काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।
भट्टराईले आफ्नो स्वास्थ्य अवस्थालाई देखाउँदै राजीनामा दिएको बताइएको छ।
विभिन्न माग राखेर शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन्। मन्त्रालयले पटक पटक छलफलका लागि बोलाउँदा पनि शिक्षकहरू नआएको भट्टराईले बताउँदै आएकी थिइन्। सोमबार नै आन्दोलनरत शिक्षक तथा कर्मचारीका मागका विषयमा मन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेकी थिइन्।
शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन गरेको २०औं दिनमा शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो । नेकपा (एमाले) का एक नेताका अनुसार, मन्त्री भट्टराई स्वास्थ्यलाई कारण देखाउँदै यसअघि नै राजीनामा दिने मनस्थितिमा पुगेकी थिइन् । तर पछिल्लो समय शिक्षक आन्दोलन र त्यसबाट निम्तिएको शैक्षिक अवस्थाका कारण भट्टराईले बढी तनाव महसुस गर्दै आएकी थिइन् ।
सरकारसँग भएका बारम्बारका वार्ता निष्कर्षमा पुग्न सकिरहेको थिएन । शैक्षिक कार्यक्रम नै ठप्प पारेर शिक्षकहरु २० दिनदेखि काठमाडौंमा आन्दोलनमा छन् । उनीहरुले दैनिकजसो माइतीघर नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्दै आइरहेका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।