add

राजस्व संकलन लक्ष्यभन्दा १ खर्ब कम, खर्च भने आम्दानीभन्दा ८१ अर्ब धेरै






ActPro Nepal

|

२ कार्तिक, २०८१

|
45

काठमाडौं । भदौको तुलनामा असोज महिनामा राजस्व संकलनमा सुधार आएको छ । असोज चाडवाडको महिना भएकाले आर्थिक गतिविधि बढ्दा राजस्वमा पनि सुधार आएको हो ।

भदौको तुलनामा असोजमा राजस्व संकलन ९ अर्ब ८८ करोड रुपैयाँले बढेको हो । महालेखा नियन्त्र कार्यालका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिना (साउन-असोज)मा सरकारले कुल २ खर्ब ४८ अर्ब २६ करोड रुपैयाँ राजस्व उठाएको छ । यो वार्षिक लक्ष्यको कुल १७.४९ प्रतिशत हो ।

सरकारले चालु आवको तीन महिनामा करबाट २ खर्ब १९ अर्ब रुपैयाँ र गैरकर शीर्षकमा २८ अर्ब ५७ करोड रुपैयाँ राजस्व उठाएको छ ।

सरकार लक्ष्य अनुसार भने राजस्व उठाउन असफल भएको छ । चालु आवमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड बराबर राजस्व उठाउने लक्ष्य राखेको छ । सो अनुसार औसतमा मासिक १ खर्ब १८ अर्ब २७ राजस्व उठाउनु पर्छ । लक्ष्य अनुसार ३ महिनामा ३ खर्ब ५४ रुपैयाँ ८२ करोड रुपैयाँ राजस्व उठाउनुपर्थ्यो ।

तर, सरकारले असोजसम्म २ खर्ब ४८ अर्ब रुपैयाँ मात्रै राजस्व उठाउन सकेको छ । राजस्व संकलनमा सरकार लक्ष्यभन्दा १ खर्ब ६ अर्ब ५६ करोड रुपैयाँ पछि छ ।

सरकारले चालु आवको कुनै पनि महिना राजस्वको लक्ष्य भेटाउन सकेको छैन । साउनमा सबैभन्दा धेरै साउनमा ९४ अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो भने भदौमा घटेर ७२ अर्ब रुपैयाँमा सीमित भएको थियो ।

यद्यपि, गत वर्षको तुलनामा राजस्व संकलनमा केही सुधार देखिएको छ । तर, सरकारले अपेक्षित रुपमा अर्थतन्त्र चलायमान बनाउन नसक्दा लक्ष्यभन्दा पछाडि नै रहेको छ ।

चालु आवको ३ बित्दा समेत वैदेशिक अनुदान भने १ रुपैयाँ पनि प्राप्त भएको छैन । सरकारले यस वर्ष ५२ अर्ब ३२ करोड वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेका छ ।

आम्दानीभन्दा खर्च १ खर्ब धेरै

सरकारको चालु आवको तीन महिनामा आम्दानीभन्दा खर्च ८१ अर्ब रुपैयाँ धेरै रहेको छ । लक्ष्य अनुसार आम्दानी बढाउन नसके पनि अनावश्यक खर्च नियन्त्रण गर्न नसक्दा कुल खर्च बढेको छ । आम्दानीले नधानेपछि सरकारले ऋण लिएर दैनिक प्रशासन चलाइरहेको छ ।

महालेखाका नियन्त्रकाका अनुसार असोजसम्म सरकारले कुल ३ खर्ब २९ अर्ब २० करोड रुपैयाँ खर्च गरेको छ । यो लक्ष्यको १७.७ प्रतिशत हो । सरकारले असोज महिनामा मात्रै १ खर्ब ९१ अर्ब रुपैयाँ खर्च गरेको छ । सरकारले चालु आवमा कुल १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट ल्याएको थियो ।

गत वर्षको तुलनामा यस वर्ष बजेट खर्चमा पनि सामान्य सुधार भए पनि खर्च गर्ने प्रवृत्ति भने उस्तै छ । पूँजीगत खर्च न्यून छ भने चालु खर्च धेरै छ ।

सरकारले असोजसम्म २ खर्ब २९ अर्ब रुपैयाँ चालु खर्च गरेको छ । यो चालु आवको लक्ष्यको २०.१५ प्रतिशत हो । चालु खर्च अन्तर्गत तलब, भत्ता लगायत सुविधा पर्दछ ।

चालु खर्चमा सवा २ खर्ब बढी खचए गरेको सरकारले ३ महिनामा जम्मा २९ अर्ब ३७ करोड रुपैयाँ मात्र विकास (पूँजीगत) खर्च गरेको छ । यो वार्षिक लक्ष्यको ८.३४ प्रतिशत मात्रै हो । चालु आवमा ३ खर्ब ५२ अर्ब ३५ करोड पूँजीगत खर्च गर्ने लक्ष्य राखेको छ ।

तीन महिनामा सरकारले सार्वजनिक ऋणको साँवाब्याज तिर्न झण्डै ७० अर्ब रुपैयाँ खर्च गरेको छ । वित्तीय व्यवस्थापन शीर्षकमा ६९ अर्ब ९७ करोड ४४ लाख रुपैयाँ खर्च भएको छ ।

सरकारले चालु आवका वित्तीय व्यवस्थापनतर्फ लागि ३ खर्ब ६७ अर्ब २८ करोड रुपैयाँ बजेट छुट्याएको छ । जसमध्ये तीन महिनामा १९.०५ प्रतिशत खर्च गरेको हो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.