काठमाडौं । सरकारले ट्राफिक नियम उल्लंघन नियन्त्रण गर्न कडा कानुन बनाउने भएको छ । हाल जरिवाना रकम कम हुँदा ट्राफिक नियम उल्लंघन बढेपछि सरकारले २ लाख रुपैयाँसम्म जरिवाना र ६ महिनासम्म कैद सजाय गर्ने कानुन बनाउने भएको हो ।
भौतिक पूर्वाधार तथा यातायाता मन्त्रालयले तयार पारेको ‘सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ को मस्यौदामा ट्राफिक नियम उल्लंघनमा २ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको हो ।
प्रस्तावित विधेयकमा कसुर र दण्ड सजाय सम्बन्धी व्यवस्था गरिएको छ । जसमा तोकिए अनुसार सवारी दर्ता प्रमाणपत्रमा उल्लेखित नम्बर प्लेट नराखेमा वा अर्कै नम्बर प्लेट राखी सवारी साधन चलाएमा १० हजारदेखि ३० हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय गरी कसुरको गाम्भिर्यताको आधारमा साधनसमेत जफत गर्न सक्ने व्वस्था गरिएको छ ।
त्यसैगरी, कुनै एक प्रयोजनको लागि दर्ता भएको साधन अर्कै प्रयोजनमा प्रयोग भएमा साना दुई पाङ्ग्रेको हकमा ५० हजार रुपैयाँसम्म, तीन पाङ्ग्रे र मझौला साधनको हकमा १ लाख रुपैयाँ र ठूला साधनको हकमा २ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
लाइसेन्स नलिइ सवारी साधन चलाएमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रेको हकमा २ हजार रुपैयाँ, साना मझौला सवारीको हकमा ५ हजार रुपैयाँ र ठूला साधनको हकमा १० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ । चालाउने व्यक्ति र सवारीधनी फरक भएको खण्डमा सवारी धनीले पनि सोही अनुसार जरिवाना तिर्नु पर्ने हुन्छ ।
रुट पर्मिट नलिइ गाडी चलाएमा कारबाहीमा पर्नेले १० हजार रुपैयाँ जरिवाना तिर्नु पर्ने हुन्छ । सवारीसाधनको जाँच पास नगराई चलाउने चालकलाई दुई पाङ्ग्रेको हकमा ५ हजार रुपैयाँ, तीन पाङ्ग्रे र साना सवारीको हकमा १० हजार र मझौला तथा साना सवारीको हकमा १५ हजार रुपैयाँ जरिवान हुनेछ ।
तोकिएभन्दा बढी स्पीडमा गाडी चलाएको खण्डमा सबै किसिमका साधनलाई ५ हजार रुपैयाँ जरिवाना लाग्नेछ।
अधिकार प्राप्त व्यक्तिको स्वीकृति बिना ट्राफिक संकेत हटाएमा, बदलेमा, हेरफेर गरेमा, विगारेमा, मेटेमा, च्यातेमा वा केरमेट गरेमा २० हजार रुपैयाँ जरिवाना गरिनेछ ।
सिट बेल्ट वा मोटरसाइकल या स्कुटरमा हेलमेट नलगाई चलाएमा ३ हजार रुपैयाँ जरिवाना लाग्नेछ ।
मादक पदार्थ वा लागु पदार्थ सेवन गरेर सवारी साधन चलाउनेलाई १० हजार रुपैयाँ जरिवान प्रस्ताव गरिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।