वीरगंज । वीरगंज भन्सार नाका हुदैँ आयात हुने चारपाङ्गे सवारीसाधनको आयात ह्वात्तै घटेको छ ।गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा चारपाङ्गे सवारीसाधनको आयात ६० प्रतिशत भन्दा बढीले कमी आएको छ ।
वीरगंज नाका हुँदै पेट्रोलियम पदार्थ र विद्युतीय सवारीसाधन दूवैको आयातमा पनि कमी देखिएको छ । चालु आवको असोज मसान्तसम्मको अवधिमा ४० करोड ४७ लाख ६३ हजार मूल्यपर्ने २१५ वटा जीप, कार र भ्यान आयात भएका छन् । गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा जीप, कार र भ्यानको परिमाणको आधारमा ६६.०९ प्रतिशतले घटेको देखिन्छ । सोही अवधि राजस्व सङ्कलनको आधारमा भने ४९.९३ प्रतिशतले गिरावट आएको छ ।
वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चारपाङ्ग्रे सवारीसाधन वीरगञ्ज नाकाभन्दा पनि अन्य नाकाबाट भित्र्याउने क्रम बढेको बताए । ‘व्यवसायीले जुनसुकै नाकाबाट सवारीसाधन भित्राए पनि समग्रमा राजस्व मुलुकभित्रै भित्रिने हो,’ उनले भने,’चालु आवको साउन र भदौ महिनाको तुलनामा वीरगंज भन्सार कार्यालयले सङ्कलन गर्ने समग्र राजस्वमासमेत वृद्धि हुदैँ आइरहेको छ ।’
गत आवको तीन महिनाको अवधिमा भने ९० करोड ५७ लाख १६ हजार मूल्यपर्ने ६३४ वटा जीप, कार र भ्यानको आयात भएको थियो । पेटोलियम पदार्थबाट चल्ने चारपाङग्रे सवारीसाधनको मात्रै आयात घटेको होइन् । गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा इलेक्ट्रिक, कार, जीप र भ्यानको आयातमा पनि ठूलो गिरावट आएको छ ।
चालु आवको तीन महिनाको अवधिमा वीरगंज नाका हुँदै ९ करोड ७७ लाख ९० हजार मूल्यपर्ने ६७ वटा मात्रै इलेक्ट्रिक कार, जीप र भ्यान आयात भएको छ । प्रमुख भन्सार प्रशासक लामिछानेले इलेक्ट्रिक सवारीसाधन वीरगञ्ज नाकाबाट भन्दा पनि उत्तरी नाकाबाट धेरै भित्रिने बताउँछन्।
‘इलेक्ट्रिक सवारीसाधन व्यापारीले उत्तरी नाकाबाट भित्र्याउने गर्नुहुन्छ भने ठूला सवारीसाधन भने वीरगञ्ज नाका हुदैँ भित्रिन्छन्,’ उनले भने ।
गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा इलेक्ट्रिक सवारीसाधनको आयात परिमाणको हिसाबले ६४.७४ प्रतिशतले गिरावट आएको छ । सोही अवधिमा इलेक्ट्रिक सवारीसाधनको आयातबाट हुने राजस्व सङ्कलनमा पनि ५९.६७ प्रतिशतले कमी आएको छ । जबकी गत आवको तीन महिनाको अवधिमा ३५ करोड ९ लाख ९४ हजार मूल्यपर्ने १९० वटा इलेक्ट्रिक सवारीसाधन आयात भएको थियो ।
चालु आवको तीन महिनाको अवधिमा ७ करोड ३२ लाख १७ हजार मूल्य पर्ने ३२ वटा ट्रक, मिनि ट्रकको आयातमा भएको छ । जबकी गत आवको तीन महिनाको अवधिको तुलनामा चालु आवको सोही अवधिमा भने ६३.६४ प्रतिशतले आयात घटेको छ । गत आवको तीन महिनाको अवधिमा ट्रक मिनि ट्रक २० करोड १३ लाख १२ हजार मूल्य पर्ने ८८ वटा भित्रिएका थिए ।
त्यस्तै, चालु आवको तीन महिनाको अवधिमा पिकअप तथा डेलिभरी भ्यानको आयात पनि खस्किएको छ । चालु आवको तीन महिनाको अवधिमा नौ करोड ७५ लाख ३ हजार मूल्य पर्ने ६८ वटा पिकअप तथा डेलिभरी भ्यान आयात भएको छ । जबकी गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने पिकअप तथा डेलिभरी भ्यानको आयात ६३.६४ प्रतिशतले घटेको छ । जबकी गत आवको सोही अवधिमा भने १४ करोड १५ लाख मूल्यपर्ने १३२ पिकअप तथा डेलिभरी भ्यानको आयात भएको थियो । रासस
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।