भारतीय विदेशमन्त्री जयशंकर र प्रधानमन्त्री शाहबीच २५ मिनेट भेटवार्ता,यी विषयमा भयो कुराकानी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच नयाँ दिल्लीमा शिष्टाचार भेटवार्ता भएको छ ।

नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको भेटवार्ता करिब २५ मिनेट चलेको थियो । भेटका क्रममा नेपाल–भारत सम्बन्धका विविध पक्ष तथा द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार छलफलमा कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने विषयले प्राथमिकता पाएको थियो ।

प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्न विदेशमन्त्री जयशंकर होटल ताजमहल पुगेका थिए । भेटवार्ता सम्पन्न भइसकेको छ भने आइतबारका लागि प्रधानमन्त्री शाहको अन्य औपचारिक कार्यक्रम तय भएको छैन ।

प्रधानमन्त्री शाहको ३४ सदस्यीय औपचारिक भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार तथा राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकार सहभागी छन् । यसका अतिरिक्त निजी क्षेत्रबाट ५३ सदस्यीय उद्योगी–व्यवसायीको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी भएको छ ।

भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । त्यसैगरी उनले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने तथा राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धासुमन अर्पण गर्नेछन् ।

उच्चस्तरीय वार्ताका क्रममा सम्पर्क सञ्जाल विस्तार र ऊर्जा सहकार्यसम्बन्धी सम्पन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । साथै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा विभिन्न समझदारीपत्र आदानप्रदान हुने जनाइएको छ ।

यसपटकको भ्रमणमा आर्थिक कूटनीति र व्यावसायिक साझेदारीलाई विशेष प्राथमिकता दिइएको छ । भ्रमणका क्रममा आयोजना हुने नेपाल–भारत व्यावसायिक गोलमेच सम्मेलनमा अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनालले सम्बोधन गर्दै नेपालमा भारतीय लगानी आकर्षित गर्न सरकारले अघि सारेका नीतिगत प्रयासबारे जानकारी गराउनेछन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्ससहित ऊर्जा, सूचना प्रविधि, पर्यटन, निर्माण तथा पुँजी बजार क्षेत्रका प्रतिनिधिहरू सहभागी हुने उक्त मञ्चमा व्यापार, लगानी र औद्योगिक सहकार्यबारे छलफल हुनेछ ।

यसैबीच, भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले व्यापार तथा लगानीसँग सम्बन्धित विभिन्न एजेन्डा अघि सारेका छन् । सन् २००९ को व्यापार सन्धि समयसीमासहित पुनरावलोकन, जुटमाथिको एन्टी–डम्पिङ शुल्क तथा गैरभन्सार अवरोध हटाउने, गुणस्तर मापदण्ड र प्रयोगशाला परीक्षणको पारस्परिक मान्यता तथा थप भारतीय बन्दरगाहमा पहुँच सुनिश्चित गर्नुपर्ने माग उनीहरूले राखेका छन् ।

त्यस्तै, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप हवाई प्रवेश मार्ग, सीमा नाका सहजीकरण, दीर्घकालीन विद्युत् व्यापार तथा पूर्वाधारमा लगानी विस्तारलाई पनि प्राथमिकताका साथ उठाइएको छ ।

दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ ६ बजेर ३५ मिनेटमा नेपाल एयरलाइन्सको नियमित उडानमार्फत स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।