करको भार घटाउन उद्योग वाणिज्य महासंघ अध्यक्ष श्रेष्ठको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै न्यून रहे पनि करको भार उच्च रहेको भन्दै करका दर घटाउन सरकारसँग आग्रह गरेका छन् ।

राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले नेपालको कर–कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अनुपात २१ प्रतिशत पुगेको उल्लेख गर्दै नेपाली करदाताले क्षेत्रीय स्तरमै तुलनात्मक रूपमा बढी कर तिर्नुपरेको बताएका हुन् ।

उनले नेपालको जीडीपी वृद्धिदर दक्षिण एसियामै सबैभन्दा न्यून र कर वृद्धिदर उच्च हुनु अर्थतन्त्रका लागि चुनौतीपूर्ण अवस्था भएको बताए । यस अवस्थाको जिम्मेवारी वर्तमान सरकारलाई मात्र दिन नमिल्ने उल्लेख गर्दै उनले विगतका सरकार र समग्र नेपाली समाजले पनि यसको जिम्मेवारी लिनुपर्ने धारणा राखे ।

व्यवसायीहरूले करको भार बढी भएको महसुस गरिरहेको भन्दै श्रेष्ठले अर्थमन्त्रीलाई करका दर क्रमशः घटाउँदै लैजान आग्रह गरे । व्यवसाय सञ्चालनको लागत घटाउने र व्यवसाय गर्न सहज वातावरण निर्माण गर्ने विषयलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ ।

नयाँ सरकार गठनपछि केही सकारात्मक नीतिगत पहल भएको उल्लेख गर्दै श्रेष्ठले चालु आर्थिक वर्षको बजेटमा व्यक्तिगत आयकर तथा भन्सार दरमा कटौती, उधारो असुली, बौद्धिक सम्पत्ति संरक्षण, सीमित दायित्वको साझेदारीसम्बन्धी कानुन र सनसेट कानुन निर्माणलगायतका घोषणा स्वागतयोग्य रहेको बताए ।

त्यस्तै, निजी क्षेत्रको संरक्षण तथा प्रवर्द्धनका लागि सरकारले अघि सारेको निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति (पीआईपीएस) पनि सकारात्मक कदम भएको उनको भनाइ छ । महासंघले दिएको सुझावअनुसार सरकारले रणनीति अघि बढाएको उल्लेख गर्दै उनले त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

श्रेष्ठले करको भार कम गर्दै व्यवसाय सञ्चालनको लागत घटाउन सके निजी क्षेत्रको लगानी, उत्पादन तथा आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने बताए । सरकारले नीतिगत रूपमा गरेका घोषणालाई छिटो कार्यान्वयनमा लैजान सके अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उनको धारणा छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।