ठूला पूर्वाधार परियोजनामा नेपाली निर्माण कम्पनीलाई पनि सहभागी गराउन अध्यक्ष श्रेष्ठको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले ठूला पूर्वाधार विकास परियोजनामा विदेशी लगानीकर्तासँगै स्वदेशी निजी क्षेत्रलाई पनि सहभागी गराउनुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित ‘नेपाल पूर्वाधार सम्मेलन, २०२६’ लाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले विदेशी कम्पनीलाई ठूला परियोजनाको जिम्मेवारी दिँदा नेपाली निर्माण कम्पनीलाई समेत संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) तथा साझेदारीमा सहभागी गराउने व्यवस्था गर्न सरकारसँग आग्रह गरेका हुन् ।

उनले विदेशी कम्पनीसँगको सहकार्यले नेपाली निर्माण व्यवसायीको प्राविधिक क्षमता, प्रविधि र दक्षता अभिवृद्धि हुने बताए । यस्तो अवसरले भविष्यमा नेपाली कम्पनीहरू आफैँ ठूला पूर्वाधार परियोजना निर्माण गर्न सक्षम बन्ने उनको भनाइ छ ।

भारतको दिल्ली मेट्रो निर्माणको उदाहरण दिँदै श्रेष्ठले त्यहाँ भारतीय निर्माण कम्पनीहरूले विदेशी कम्पनीसँग संयुक्त रूपमा काम गर्ने अवसर पाएकाले अहिले आफ्नै क्षमतामा मेट्रो निर्माण गर्न सक्ने अवस्था बनेको उल्लेख गरे । त्यस्तै, नेपालमा सुरुङ निर्माणका क्षेत्रमा विदेशी कम्पनीसँगको सहकार्यले नेपाली इन्जिनियरहरूको क्षमता विकासमा सहयोग पुगेको उनले बताए ।

श्रेष्ठले नेपालको व्यावसायिक प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि पूर्वाधार विकास सबैभन्दा महत्त्वपूर्ण पक्ष भएको बताए । भन्सारमा सामान छुटाउन लाग्ने समयदेखि पूर्वदेखि पश्चिमसम्मको यात्रामा लाग्ने अवधिसम्मले राष्ट्रिय अर्थतन्त्रको प्रभावकारिता निर्धारण गर्ने उनको भनाइ छ ।

नेपालमा कमजोर पूर्वाधारका कारण व्यवसाय सञ्चालन लागत बढ्नुका साथै नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता प्रभावित भइरहेको उनले बताए । भारतमा दिल्लीबाट जम्मुसम्म पाँच घण्टा र चण्डीगढसम्म दुई घण्टामा पुग्न सकिने उदाहरण दिँदै उनले पूर्वाधार विकासले आर्थिक गतिविधिलाई तीव्रता दिन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

उनले लगानीयोग्य, व्यावहारिक र पर्याप्त अध्ययनमा आधारित परियोजना पहिचान गरी स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नुपर्नेमा जोड दिए । विदेशी लगानी भित्र्याउने क्रममा स्वदेशी निजी क्षेत्रलाई पनि प्रोत्साहन र साझेदारीको अवसर दिनुपर्ने उनको धारणा थियो ।

यसैगरी, सरकारले यसपटक नेपाल पूर्वाधार सम्मेलनको स्वामित्व लिएर अघि बढाएकोमा श्रेष्ठले स्वागत गर्दै निजी क्षेत्रका तर्फबाट आभार व्यक्त गरे । यसअघि नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गर्दै आएको सम्मेलनलाई सरकारले समेत अग्रसरता लिएर अघि बढाउनु सकारात्मक भएको उनले बताए ।

अध्यक्ष श्रेष्ठले लगानी सम्मेलनमा विदेशी लगानीकर्तासमक्ष परियोजना प्रस्तुत गर्नुअघि पर्याप्त अध्ययन र तयारी गर्नुपर्नेमा पनि जोड दिए । लगानीकर्तालाई आकर्षित गर्न परियोजनाहरू सम्भाव्य, व्यावसायिक रूपमा उपयोगी र प्रभावकारी ढंगले कार्यान्वयन गर्न सकिने हुनुपर्ने उनको भनाइ छ ।

उनका अनुसार पूर्वाधार विकासमा स्वदेशी निजी क्षेत्रको क्षमता अभिवृद्धि गर्दै विदेशी लगानी र प्रविधिको उपयोग गर्न सके नेपालको आर्थिक विकास तथा व्यावसायिक प्रतिस्पर्धात्मकता बढाउन सहयोग पुग्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।