नेपाललाई १०० अर्ब डलरको अर्थतन्त्र बनाउन पूर्वाधारमा लगानी र उत्पादन क्षमता बढाउनुपर्ने अध्यक्ष पाण्डेको भनाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाललाई १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र बनाउने लक्ष्य हासिल गर्न पूर्वाधार क्षेत्रमा लगानी बढाउनुका साथै उत्पादन क्षमता विस्तार गर्नुपर्ने नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ सम्बन्धी पत्रकार सम्मेलन तथा प्रोजेक्ट शोकेसलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले पूर्वाधार विकासलाई सडक र पुल निर्माणमा मात्रै सीमित नराखी समग्र आर्थिक विकासको शृङ्खलाका रूपमा अघि बढाउनुपर्ने बताएका हुन् ।

उनले सडक, पुल, प्रसारण लाइन, सिँचाइ, औद्योगिक क्षेत्र, गोदाम, डिजिटल सञ्जाल, खानेपानी तथा व्यवस्थित सहरी विकासलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । पूर्वाधार निर्माणसँगै त्यसको सञ्चालन र मर्मतसम्भारलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

नेपाललाई १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र बनाउने लक्ष्यसम्बन्धी अध्ययनले लगानी वृद्धि र उत्पादन क्षमता विस्तार दुवै आवश्यक रहेको स्पष्ट पारेको उनले बताए ।

अध्यक्ष पाण्डेका अनुसार लगानीको अनुकूल वातावरण निर्माण गर्न स्पष्ट नियम, समयमै निर्णय र भरपर्दो सार्वजनिक सेवा आवश्यक छ । सरकारले नीतिगत स्थिरता र सहज वातावरण निर्माण गर्नुपर्ने तथा निजी क्षेत्रले पुँजी, प्रविधि र उद्यमशीलतामार्फत उत्पादन तथा रोजगारी सिर्जना गर्नुपर्ने उनले उल्लेख गरे ।

सरकार परिवर्तन भए पनि नफेरिने नीति, अनुमानयोग्य नियम र समयमै हुने निर्णय लगानीकर्ताका लागि सबैभन्दा ठूलो सुरक्षा भएको उनको भनाइ छ । लगानीकर्ताले दीर्घकालीन योजना बनाउन सक्ने वातावरण निर्माण गर्नु सरकारको महत्त्वपूर्ण जिम्मेवारी रहेको उनले बताए ।

उनले भरपर्दो र उत्थानशील पूर्वाधारले अनिश्चितताका कारण लाग्ने लागत घटाउने, उद्यम विस्तार गर्ने तथा रोजगारी सिर्जना गर्ने आधार तयार पार्ने बताए । पूर्वाधार विकासलाई खण्डित रूपमा नभई एकीकृत र पूर्ण शृङ्खलाका रूपमा अघि बढाउनुपर्नेमा पनि उनले जोड दिए ।

नेपाल पूर्वाधार सम्मेलनको सुरुवातदेखि नै सहभागी हुँदै आएको उल्लेख गर्दै पाण्डेले विगतका सम्मेलनमा नेपालको सम्भावना प्रस्तुत गर्ने, लगानी आह्वान गर्ने र नीतिगत सुधारका विषय उठाउने काम भएको बताए । तर, अपेक्षित नतिजा हासिल गर्न नीतिगत बहस, अध्ययन, परियोजना तयारी र कार्यान्वयनलाई एउटै प्रक्रियामा जोड्नुपर्ने उनको धारणा छ ।

यसैबीच, नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी डिसेम्बर ९ र १० गते काठमाडौंस्थित सोल्टी होटलमा आयोजना हुने जानकारी दिइएको छ । सम्मेलनले पूर्वाधारमा लगानी, उत्पादन वृद्धि, रोजगारी सिर्जना र आर्थिक समृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

यसपटक नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) संयुक्त रूपमा सम्मेलनका आयोजक रहेका छन् । सम्मेलन सञ्चालनका लागि पूर्वाधार विकासमन्त्रीको नेतृत्वमा निर्देशक समिति र सम्बन्धित सचिवको नेतृत्वमा कार्यसमिति क्रियाशील रहेको अध्यक्ष पाण्डेले जानकारी दिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।