पत्रकार पक्राउ गर्ने र पछि रिहा गर्ने होइन, गैरकानुनी हस्तक्षेप नै बन्द गर्नुपर्छ : सभापति थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने र जनदबाबपछि रिहा गर्ने प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाएका छन्।

शुक्रबार विज्ञप्ति जारी गर्दै सभापति थापाले पत्रकारलाई पक्राउ गरेर पछि रिहा गर्नुको सट्टा कानुनविपरीत पक्राउ गर्ने र दुःख दिने गतिविधि नै बन्द गर्न सरकारसँग माग गरेका हुन्।

समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकार पक्राउ गर्ने शैलीले शाहीकालीन निरंकुशताको झल्को दिएको उल्लेख गर्दै उनले यस्तो प्रवृत्ति लोकतन्त्रका लागि चिन्ताजनक रहेको बताएका छन्।

विगतमा पनि शासकहरूले आफूमाथि प्रश्न उठ्दा सत्ता र शक्तिको दुरुपयोग गर्दै सञ्चार क्षेत्रमाथि हस्तक्षेप गर्ने गरेको स्मरण गराउँदै थापाले त्यस्ता निरंकुश प्रवृत्ति पुनः दोहोरिनु दुःखद भएको बताएका छन्।

स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै उनले कुनै सञ्चारमाध्यम वा पत्रकारबाट गल्ती भएको भए त्यसको निरूपण स्थापित कानुनी प्रक्रियाबाटै हुनुपर्ने स्पष्ट पारेका छन्। प्रेस काउन्सिललगायत संस्थागत निकायलाई बेवास्ता गर्दै सञ्चारगृहमा सिधै प्रहरी हस्तक्षेप गर्नु कानुनी शासनको मान्यताविपरीत भएको उनको भनाइ छ।

सभापति थापाले सञ्चारमाध्यम र पत्रकारमाथिको प्रहरी हस्तक्षेपलाई निन्दनीय र आपत्तिजनक भन्दै नियन्त्रणमा लिइएका व्यक्तिको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा अनावश्यक प्रहरी हस्तक्षेप रोक्न तथा कानुनी प्रक्रियाबाहिर गएर चालिएका कदम सच्याउन सरकारसँग माग गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।