काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आज (कात्तिक ११ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन खुला गरेको हो ।
कम्पनीले जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
जसमध्ये १६ करोड ९० लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १६ लाख ९० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।
सोमध्ये १० लाख १४ हजार कित्ता सेयर आयोजनाको अति प्रभावित क्षेत्र दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नम्बर ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका वडा नम्बर २, ३ र ४ का स्थायी बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने बाँकी रहेको ६ लाख ७६ हजार कित्ता ती दुबै गाउँपालिकाका अन्य वडाहरुका स्थायी बासिन्दाहरुमा बाँडफाँट गरिनेछ ।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ४ करोड २२ लाख ५० हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ४ लाख २२ हजार ५०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा कात्तिक २५ गते हुनेछ भने ढिलोमा मंसिर १० गते हुनेछ ।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गते हुनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।




Comment