काठमाडौं । सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष २०८३/८४ मा ३ करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ।
सूचना तथा सञ्चार मन्त्रालयले मौलिक, यथार्थपरक तथा जनचेतनामूलक चलचित्र निर्माणका लागि स्क्रिप्ट, प्रोडक्सन र पोस्ट प्रोडक्सन विधामा प्रोत्साहन अनुदान उपलब्ध गराउन आवेदन आह्वान गरेको हो।
मन्त्रालयले आज प्रकाशित गरेको सूचनाअनुसार इच्छुक व्यक्ति तथा संस्थाले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवश्यक विवरण र कागजातसहित आवेदन पेस गर्नुपर्नेछ। सरकारले स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत चलचित्र क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले उक्त बजेट विनियोजन गरेको जनाएको छ।
अनुदान कार्यक्रम ‘सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८३’ अनुसार सञ्चालन गरिनेछ।
सरकारले सांस्कृतिक पहिचान, राष्ट्रिय महत्त्व, सामाजिक चेतना र स्थानीय मौलिकतासँग सम्बन्धित विषयवस्तुलाई चलचित्रमार्फत प्रस्तुत गर्न प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। यस कार्यक्रममार्फत चलचित्रको कथा तथा पटकथा विकासदेखि निर्माण र निर्माणपछिका कामसम्म आर्थिक सहयोग उपलब्ध गराइनेछ।
मन्त्रालयका अनुसार स्क्रिप्ट, प्रोडक्सन र पोस्ट प्रोडक्सन गरी तीन विधामा अनुदानका लागि आवेदन दिन सकिनेछ। स्क्रिप्ट विधाअन्तर्गत कथा तथा पटकथा विकास, प्रोडक्सन विधाअन्तर्गत चलचित्र निर्माण र पोस्ट प्रोडक्सन विधाअन्तर्गत निर्माण सम्पन्न भएपछि गरिने कामका लागि सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको छ।
अनुदानका लागि आवेदन दिने व्यक्ति वा संस्थाले चलचित्रको स्क्रिप्टको नाम, अनुदान माग गरिएको विधा, कथाकार तथा पटकथाकारको नाम, चलचित्रको भाषा र स्क्रिप्ट लेखकको नाम तथा ठेगाना खुलाउनुपर्नेछ।
त्यसैगरी निर्माता, निर्देशक र छायाँकारको नाम तथा ठेगाना, चलचित्र निर्माण गर्ने संस्था वा कम्पनीको विवरण र निर्माणमा साझेदार संस्था भए त्यसको जानकारीसमेत आवेदनमा समावेश गर्नुपर्नेछ।
आवेदनसँगै चलचित्रमा रहने कलाकारको नाम र सङ्ख्या खुलाउनुका साथै लेखक, निर्माता, निर्देशक, छायाँकार तथा मुख्य कलाकारको व्यक्तिगत विवरण (बायोडाटा) पनि पेस गर्नुपर्ने मन्त्रालयले जनाएको छ। चलचित्र निर्माणसम्बन्धी कार्ययोजना पनि अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ।
सरकारले यस अनुदान कार्यक्रमबाट नेपाली मौलिक कथा, स्थानीय संस्कृति, परम्परा, सामाजिक यथार्थ र राष्ट्रिय पहिचानसँग सम्बन्धित विषयलाई चलचित्रमा अभिलेखीकरण तथा प्रस्तुत गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ।
चलचित्र निर्माणका विभिन्न चरणमा आर्थिक सहयोग उपलब्ध गराउँदा सिर्जनात्मक कार्यलाई प्रोत्साहन मिल्ने, मौलिक विषयवस्तुमा आधारित चलचित्रको उत्पादन बढ्ने र जनचेतनामूलक सामग्री निर्माणमा सहयोग पुग्ने सरकारको विश्वास छ।
अनुदान वितरणको विस्तृत प्रक्रिया, मापदण्ड तथा अन्य सर्तहरू सम्बन्धित कार्यविधिअनुसार निर्धारण हुने मन्त्रालयले जनाएको छ।




Comment