काठमाडौं । दयाहाङ राईको मुख्य भूमिका रहेको नेपाली फिल्म ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ लाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले सुपरहिट घोषणा गरेको छ। प्रदर्शनमा आएको तीन दिनमै फिल्मलाई क्यूएफएक्सले सुपरहिट घोषणा गरेको हो।
क्यूएफएक्सको आधिकारिक वेबसाइटमा फिल्मलाई सुपरहिट उल्लेख गरिएको छ। क्यूएफएक्सले आफ्ना हलमा पहिलो साता एक करोड ५० लाख रुपैयाँ र दुई सातामा दुई करोड ५० लाख रुपैयाँभन्दा बढी ग्रस कमाइ गर्ने फिल्मलाई सुपरहिट घोषणा गर्ने गरेको छ। यस आधारमा ‘कबड्डी ५’ ले क्यूएफएक्सका हलबाट मात्रै एक करोड ५० लाख रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको संकेत मिल्छ।
यसअघि सफल फिल्मको शृंखलाका रूपमा रहेको ‘कबड्डी ५’ ले प्रदर्शनअघि नै दर्शकमाझ राम्रो क्रेज बनाएको थियो। अग्रिम टिकट बुकिङमा समेत फिल्मप्रति दर्शकको आकर्षण देखिएको थियो। दसैँको अवसरमा एकसाथ तीन नेपाली फिल्म प्रदर्शनमा आए पनि ‘कबड्डी ५’ ले देशभर करिब २४० शो पाएको थियो।
प्रदर्शनको पहिलो दिन शुक्रबारदेखि नै फिल्मका शोमा दर्शकको उल्लेख्य उपस्थिति देखिएको थियो। शनिबार पनि अधिकांश शो हाउसफुल भएका थिए। आइतबारसमेत फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ।
फिल्ममा दयाहाङ राई, मिरुना मगर, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ र माओत्से गुरुङलगायत कलाकारको अभिनय छ।
बासुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। फिल्ममा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) को लगानी रहेको छ।




Comment