काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मालाई गरिएको नियुक्तिको विरोधमा आन्दोलन गर्ने लुम्बिनी बचाउ महाअभियानका संयोजकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सार्वजनिक स्थानमा उच्छृङ्खल गतिविधि गरी शान्ति सुव्यवस्थामा खलल पुर्याएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेहरूमा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ६ बस्ने ६१ वर्षीय अक्रम खान र सोही नगरपालिका वडा नं. ९ का ३३ वर्षीय वाजिउद्दिन मुसलमान रहेका छन्। अक्रम खान लुम्बिनी बचाउ महाअभियानका संयोजक हुन्।
इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय भैरहवामा राखी थप अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक चन्द्र किशोर शाहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यता महाअभियानले भने शान्तिपूर्ण रूपमा आफ्ना माग राखेर आन्दोलन गरिरहेको बेला प्रहरीले मध्यरातमा घरमै पुगेर धरपकड गरेको आरोप लगाएको छ। महाअभियानका सहसंयोजक रामविकास चौधरीका अनुसार लुम्बिनी पर्साचोकस्थित घरमा सुतिरहेको अवस्थामा दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
अभियानले आफ्ना मागहरू लोकतान्त्रिक तवरले उठाउन पाउने अधिकारमाथि हस्तक्षेप भएको भन्दै पक्राउ परेका दुवै जनाको विनासर्त तत्काल रिहाइको माग गरेको छ।
लुम्बिनी विकास कोषको उपाध्यक्ष पदका लागि खुला प्रतिस्पर्धामा आवेदन नै नदिएकी आनी छोइङ डोल्मालाई सरकारले गैरकानुनी र अपारदर्शी रूपमा नियुक्त गरेको भन्दै स्थानीय स्तरमा विरोध सुरु भएको हो। आन्दोलनरत पक्षले उक्त नियुक्ति बदर गरी स्थानीय योग्य व्यक्तिलाई कोषको जिम्मेवारी दिनुपर्ने माग गर्दै आएको छ।




Comment