आइसिसी विश्वकप लिग-२: नेपालको शीर्ष चार सम्भावना समाप्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको तीन वर्षे साइकल रहेको आइसिसी विश्वकप लिग–२ को शीर्ष चारमा रहँदै विश्वकप क्वालिफायर खेल्ने सम्भावना समाप्त भएको छ।

पहिलो संस्करणमा शीर्ष चारभित्र रहेर एकदिवसीय विश्वकप छनोट खेलेको नेपाल यसपल्ट (२०२४–०२६) को साइकलमा भने असफल भएको छ। नेपाल नै सम्मिलित त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा ओमानले शुक्रबार क्यानडालाई ४१ रनले पराजित गर्‍यो। यससँगै लिग–२ को अन्तिम चार खेल बाँकी छँदा नै नेपाल शीर्ष चारको होडबाट बाहिरिन पुग्यो।

यसअघि तीन राष्ट्र अमेरिका, स्कटल्यान्ड र नेदरल्यान्डले शीर्ष चारभित्र स्थान बनाइसकेका छन्। दुई खेलअगावै अमेरिका यो साइकलको च्याम्पियन भइसकेको छ। अन्तिम एक स्थानका लागि ओमान, नामिबिया र क्यानडा दौडमा छन्। नेपालको भने अंकगणीतिय सम्भावना मात्र बाँकी थियो।

ओमान भएको खेलमा घरेलु टोलीको जितसँगै नेपालको सम्भावना समाप्त भयो। ओमानले २६४ रनको लक्ष्य दिएको थियो। तर क्यानडा ४८ ओभरमा २२२ रनमा अलआउट भयो। जितसँगै चौथो स्थानमा रहेको ओमानको २९ खेलबाट ३३ अंक भएको छ। यो अंकले ओमानको शीर्ष चार होड बलियो देखिन्छ।

सातौं स्थानमा रहेको नेपालको ३२ खेलबाट २४ अंक छ। नेपालले बाँकी सबै खेल जिते पनि अधिकतम ३२ अंकसम्म मात्र पुग्न सक्ने भएकाले शीर्ष चारमा पर्ने सम्भावना सकिएको हो। अब नेपालले आगामी डिसेम्बरमा हुने विश्वकप क्वालिफायर प्ले–अफमार्फत विश्वकप छनोटको यात्रा अघि बढाउनुपर्नेछ।

नामिबिया ३४ खेलबाट २९ अंकसहित पाँचौं र क्यानडा ३३ खेलबाट २५ अंकसहित छैटौं स्थानमा छन्। यो अन्तर बढ्दा ओमान शीर्ष चारको होडमा बलियो देखिन्छ। नेपाल २४ अंकसहित सातौं र युएई ३० खेलबाट १९ अंकसहित आठौं स्थानमा छन्। प्लेअफको शीर्ष चारमा रहने टोलीले विश्वकप क्वालिफायरमा स्थान बनाउनेछन्। जुन आगामी डिसेम्बरमा हुनेछ।

अमेरिका ३४ खेलबाट ४७ अंक जोड्दै च्याम्पियन बनिसकेको छ। स्कटल्यान्ड ३६ खेलबाट ४५ अंकसहित दोस्रो र नेदरल्यान्ड्स ३२ खेलबाट ३८ अंकसहित तेस्रो स्थानमा छन्। नेपालले ओमानमा नै जारी शृंखलामा आफ्नो आगामी खेल आइतबार क्यानडासँग खेल्नेछ।

लिग–२ अन्तर्गत अमेरिका, नामिबिया र युएईबीचको पनि शृंखला जारी छ। ओमानको जितमा ओपनर हस्नैन उल वाहबले उत्कृष्ट ब्याटिङ गरे। करियरको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहेका वाहब शतक बनाउन सात रनले चुके। उनले ७७ बलमा ९३ रन बनाए।

आक्रामक ब्याटिङ गरेका वाहब दुर्भाग्यपूर्ण रूपमा रनआउट भए। वाहबले पहिलो विकेटका लागि जतिन्दर सिंहसँग ५३ रनको साझेदारी गरे। दोस्रो विकेटका लागि मुजिबुर अलीसँग ११३ रन जोड्दै ओमानको इनिङ्सलाई बलियो बनाए। मुजिबुरले ७३ बलमा ३९ रन बनाउँदा जतिन्दरले ३० बलमा ३४ रन जोडे।

ओमानले निर्धारित ५० ओभरमा ४९.१ ओभर खेल्दै सबै विकेट गुमाएर २६३ रन बनाएको थियो। क्यानडाका बलरमध्ये हर्ष ठाकेरले चार विकेट लिए। शील पटेल र अजयवीर हुन्डलले दुई विकेट हात पारे। जबाफमा क्यानडाका आदित्य वरदराजनले सर्वाधिक ६४ रन बनाए। उनले ८१ बलको सामना गरे।

हर्ष ठाकेरले ५३ बलमा ४० रन तथा आरोन जोन्सनले ५८ बलमा २९ रन जोडे पनि टोलीलाई जिताउन सकेनन्। ओमानका हसनैन शाहले ३३ रन खर्चेर चार विकेट लिए। शकिल अहमदले २५ रन दिँदै तीन विकेट लिए। समय श्रीवास्तवको नाममा पनि तीन विकेट नै रह्यो। ओमानको बलिङसामु क्यानडाको ब्याटिङ टिक्न सकेन।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।