असोज २३ देखि नेपाल फिनटेक एक्स्पो २०२६ हुँदै, के छन् विशेषता ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिनटेक एलायन्स नेपालको आयोजनामा आगामी असोज २३ गते शुक्रबारदेखि ललितपुरको सानेपामा रहेकाे हेरिटेज गार्डेनमा ‘नेपाल फिनटेक एक्स्पो २०२६’ को दोस्रो संस्करण सुरु हुने भएको छ।

लुपको प्रस्तुति र एभरेस्टक्लाउडको सहयोगमा सञ्चालन हुन लागेको प्रदर्शनी असोज २५ गते आइतबारसम्म तीन दिनसम्म चल्नेछ। एक्स्पोको औपचारिक उद्घाटन शुक्रबार बिहान १० बजे नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर किरण पण्डितले गर्नेछन् ।

फिनटेक अलायन्स नेपालका अध्यक्ष अमित अग्रवालले विशेषगरी वाणिज्य बैंकहरूका लागि ५ लाख, १० लाख देखि २० लाख रुपैयाँसम्मको साना र लघु कर्जा प्रवाह गर्दा संचालन खर्च उच्च हुने भएकाले बैंकहरूले सोझै यस्ता कर्जा दिन कठिनाइ भइरहेको बताए । अब यस्ता कर्जा फिनटेक मार्फत प्रवाह हुनुपर्ने बताए ।

बैंकहरूमा १ करोड रुपैयाँभन्दा कमको कर्जा स्वीकृत गर्दा जनशक्ति र व्यवस्थापकीय खर्चका कारण ‘ब्रेक इभन’ हुन गाह्रो हुने अवस्था रहेकाले यस क्षेत्रमा बैंक र फिनटेक कम्पनीहरू बीच सहकार्य अपरिहार्य रहेको उनले बताए ।

‘फिनटेक कम्पनीहरूले प्रविधिको माध्यमबाट बैंकहरूका लागि ‘इनेबलर’ को भूमिका निर्वाह गर्दै नेपालको कर्जा परिदृश्यमा क्रान्ति ल्याउन सक्छन्’ उनले भने , ‘हाल नेपालमा वित्तीय सेवाका लागि ‘हायर पर्चेज’ को मात्र व्यवस्था रहेकोमा आगामी दिनमा शिक्षा, स्वास्थ्य तथा उपभोक्ता सामग्रीका लागि छुट्टै विशेष प्रकारका गैर-बैंकिङ वित्तीय संस्थाको नयाँ लाइसेन्स आवश्यक रहेको छ । नेपालको वित्तीय क्षेत्र अहिले सोही रूपान्तरणको संघारमा रहेको छ ।’

तीन दिने एक्स्पो अन्तर्गत पहिलो दिन (शुक्रबार) लाई ‘बैंकार्स डे’ को रूपमा मनाइने उनले बताए । जसमा बैंकिङ क्षेत्रका प्रतिनिधिहरूलाई आमन्त्रण गरिनुका साथै नीतिगत छलफल र फिनटेक सोसल कार्यक्रम आयोजना गरिनेछ।

एक्स्पोको अन्तिम दिन असोज २५ गते घटस्थापनाको दिन परेकाले आयोजकले सम्पूर्णमा बडादशैंको शुभकामना व्यक्त गर्दै यस पटक धेरै प्रदर्शकहरूले दशैं अफर र नयाँ डिजिटल उत्पादनहरू सार्वजनिक गर्ने उनले जानकारी दिएका । डिजिटल साक्षरता, सुरक्षित भुक्तानी र नवीनतम प्रविधिको प्रदर्शन गरिने यो एक्स्पो देशकै ठूलो फिनटेक उत्सव हुने उनको दाबी छ ।

एक्स्पाेका टाइटल स्पोन्सर ‘लुप’ का सीईओ समेत रहेका फिनटेक अलायन्स नेपालका निवर्तमान अध्यक्ष साजन शर्माले नेपालको फिनटेक क्षेत्र अब ‘डेविट’ आधारित अर्थतन्त्रबाट ‘क्रेडिट’ (ऋण) आधारित अर्थतन्त्रतर्फ रूपान्तरण हुनुपर्नेमा जोड दिए । विगत एक दशकमा नेपालले डिजिटल वालेट, अनलाइन बैंकिङ र भुक्तानी जस्ता डेविट कारोबारमा ठूलो फड्को मारेको भएपनि देशको आर्थिक वृद्धिका लागि अब सहज क्रेडिट नेटवर्कको विकास गर्नुपर्ने उनले बताए ।

फिनटेक उद्याेगले विगतदेखि भुक्तानीको क्षेत्रमा काम गर्दै आएको र अब बैंक तथा वित्तीय संस्थाहरूसँग मिलेर उपभोक्ता र व्यापारीहरूका लागि सहज कर्जा उपलब्ध गराउने नयाँ डिजिटल सञ्जाल निर्माण गर्नुपर्ने बताए । ‘महिनाको ७० हजार कमाउने पठाओ राइडरले सजिलै २ लाख रुपैयाँ ऋण पाएर नयाँ स्कुटर किन्न सक्ने र महिनाको ५० हजार कमाउने प्राथमिक विद्यालयका शिक्षकले १ लाख रुपैयाँ बराबरको आफ्नो मनपर्ने ल्यापटप किन्न सक्ने गरी लघु कर्जा सहज बनाउनु नै हाम्रो मुख्य उद्देश्य हो,’ उनले भने ।

यस वर्षको एक्स्पोलाई विगतभन्दा परिमार्जित गर्दै तीन दिनको बनाइएको आयाेजकले जनाएकाे छ । जसमा ६५ भन्दा बढी प्रदर्शनी स्टलहरू रहनेछन्। एक्स्पोमा स्वदेशी तथा विदेशी प्रदर्शकहरूले डिजिटल भुक्तानी, डिजिटल बैंकिङ, कर्जा प्रविधि, कोर बैंकिङ सफ्टवेयर, डेटा एनालिटिक्स, एआईमा आधारित पहिचान प्रमाणीकरण, डिजिटल अनबोर्डिङ र साइबर सुरक्षा जस्ता आधुनिक प्रविधिहरू प्रदर्शन गर्नेछन्।

तीन दिनको अवधिमा ६ हजार भन्दा बढी आगन्तुकहरूले एक्स्पोको अवलोकन गर्ने अपेक्षा रहेकाे आयोजकले जनाएकाे छ । एक्स्पोमा नयाँ, महिला तथा युवा नेतृत्वका फिनटेक उद्यमहरूका लागि विशेष स्टार्टअप प्याभिलियनको व्यवस्था गरिएको छ । उपभोक्ताहरूलाई सुरक्षित डिजिटल भुक्तानीको प्रत्यक्ष अभ्यास गराउन एक्सपेरियन्स जोन समेत निर्माण गरिएको आयाेजकले उल्लेख गरेकाे छ ।

तीन दिने कार्यक्रम अन्तर्गत पहिलो दिनलाई ‘बैंकार्स डे’ का रूपमा मनाइनेछ, जसमा थर्ड फ्याक्टर एआई, डिलाइटिका एआई, इन्फोडिभलपर्स, दियो एआई, एमबैंक टेक्नोलोजीज, स्प्यारो एसएमएस र हिमाल टेक जस्ता कम्पनीहरूले आफ्ना प्राविधिक उत्पादनहरू प्रस्तुत गर्नेछन्। दोस्रो दिन ‘डायस्पोरा डे’ का रूपमा सञ्चालन हुनेछ । जहाँ रिसेक्युरिटी, भवानी इन्फोटेक र बारकोड नेपालको प्रस्तुति रहनेछ। सोही दिनको साँझ क्लासिक भेन्युमा नीतिगत छलफल र प्रिमियम लाउन्जमा नेटवर्किङ डिनरको आयोजना गरिनेछ। तेस्रो दिन सिन्याप्स टेक्नोलोजीजको प्रस्तुतिसँगै एक्स्पो समापन हुनेछ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार नेपालमा डिजिटल वालेट प्रयोगकर्ता २ करोड ८३ लाख र मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघिसकेको अवस्थामा डिजिटल साक्षरता बढाउन यो एक्स्पो महत्वपूर्ण हुने विश्वास लिइएको छ। एक्स्पोमा प्रवेशका लागि सर्वसाधारणलाई दुई सय रुपैयाँ र विद्यार्थीलाई पचास रुपैयाँ शुल्क तोकिएको छ, जसको अग्रिम टिकट खल्ती डिजिटल वालेट मार्फत बुक गर्न सकिनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।