काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैं सुमधुर, मैत्रीपूर्ण र प्रगाढ रहँदै आएको बताएका छन्।
मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बिदाइ भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले दुई देशबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी सहकार्यका विषयमा चर्चा गरेका हुन्।
आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका राजदूत श्रीवास्तवसँगको भेटमा प्रधानमन्त्री शाहले हालै नेपालमा आएको बाढीपहिरो तथा अन्य विपद्का समयमा भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति विशेष धन्यवाद व्यक्त गरे। उनले राजदूत श्रीवास्तवलाई सफल कार्यकाल सम्पन्न गरेकोमा बधाई दिँदै आगामी यात्राका लागि शुभकामना समेत व्यक्त गरे।
भेटका क्रममा राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल–भारत सहकार्यअन्तर्गत विभिन्न विकास परियोजनाहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी गराए। उनले नेपालमा रहँदा प्राप्त सहयोग र सद्भावका लागि नेपाल सरकार तथा नेपाली जनताप्रति आभार व्यक्त गरे।
भेटवार्तामा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा आगामी दिनमा समेत आपसी सहकार्यलाई निरन्तरता दिने विषयमा सकारात्मक छलफल भएको जनाइएको छ।




Comment