काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ ।
केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले ३० दिन अवधिको ‘निक्षेप संकलन उपकरण’ मार्फत उक्त तरलता खिच्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार यस उपकरणको बोलकबोल आज (असोज १२ गते) दिउँसो ३ः०० बजेसम्म हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’ मार्फत प्रतिस्पर्धा गर्न पाउनेछन् ।
यस निक्षेप संकलन उपकरणको निष्कासन आजै (असोज १२ गते) भई साँवा तथा ब्याज भुक्तानी आगामी कात्तिक ११ गते हुने राष्ट्र बैंकले जनाएको छ ।
यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंकहरु, विकास बैंकहरु र फाइनान्स कम्पनीहरुले मात्र भाग लिन पाउनेछन् । सहभागी संस्थाहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले निःशेष भाग जाने गरी कुल ३० अर्ब रुपैयाँसम्मको बोल पेस गर्न सक्नेछन् । बोलकबोल बहु–ब्याजदरमा पनि गर्न सकिने केन्द्रिय बैंकले जनाएको छ ।
निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलको माध्यमबाटै तय हुनेछ । सबैभन्दा कम ब्याजदर कबोल गर्ने बोलवालालाई पहिलो प्राथमिकतामा राखी क्रमशः रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ । समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा आह्वान रकमभन्दा बढी भएमा समानुपातिक आधारमा बाँडफाँड गरिनेछ ।
निक्षेप संकलन उपकरण बैंकहरूको लगानी हुने भएकाले उक्त रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन । यद्यपि, बैंकहरूले यसलाई वैधानिक तरलता अनुपात तथा तरलता अनुपातमा भने गणना गर्न पाउनेछन् ।
निक्षेप संकलन उपकरणलाई नेपाल राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत उपयोग गर्न सकिनेछ । संकलित निक्षेप रकम भुक्तानी मितिभन्दा अगाडि फिर्ता भुक्तानी नहुने राष्ट्र बैंकले जनाएको छ ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि केन्द्रिय बैंकले निरन्तर तरलता प्रशोचन गर्दै आएको छ । १ वर्ष अवधिको नेपाल राष्ट्र बैंक ऋणपत्र मार्फत केन्द्रिय बैंकले ४ खर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ । त्यस्तै निक्षेप संकलन उपकरण बोलकबोल र स्थायि निक्षेप सुविधा मार्फत निरन्तर तरलता प्रशोचन गर्दै आएको छ ।
राष्ट्र बैंकको असोज ९ गतेको तथ्यांक अनुसार १३ खर्ब ३० अर्ब २० करोड रुपैयाँ तरलता प्रशोचन गरेको रकम केन्द्रिय बैंकमा मौज्दात छ ।




Comment