विदेशमा रहेका नेपालीलाई मताधिकार दिने तयारी गर्दै निर्वाचन आयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विदेशमा रहेका लाखौं नेपाली नागरिकले आगामी निर्वाचनमा विदेशबाटै मतदान गर्न पाउने सम्भावना बलियो बन्दै गएको छ। निर्वाचन आयोगले ‘आउट अफ कन्ट्री भोटिङ’ व्यवस्था कार्यान्वयनका लागि आवश्यक तयारी तथा सरोकारवालासँगको परामर्शलाई तीव्र बनाएको छ।

प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसहित आयोगका पदाधिकारीहरूले विदेशमा मतदान गराउने सम्भावित विधि र व्यवस्थाबारे विज्ञ तथा सम्बन्धित निकायसँग सघन छलफल गरिरहेका छन्।

आयोगले विभिन्न मुलुकस्थित नेपाली दूतावास तथा कन्सुलेटमा मतदान केन्द्र स्थापना गर्ने, हुलाकमार्फत मतदान, प्रतिनिधिमार्फत मतदान, विद्युतीय मतदान तथा मिश्रित प्रणाली लागू गर्ने विकल्पहरूबारे अध्ययन गरिरहेको जनाएको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार विदेशमा रहेका नेपाली नागरिकको यकिन तथ्यांक, मतदाता नामावली सङ्कलनको प्रक्रिया तथा निर्वाचन सञ्चालनमा कूटनीतिक नियोगको भूमिकाबारे विस्तृत छलफल भइरहेको छ।

विदेशमा मतदान केन्द्रको व्यवस्थापन, मतदान सम्पन्न भएपछि मतपत्रको सुरक्षा तथा मत गणनासम्बन्धी प्राविधिक र प्रशासनिक पक्षलाई समेत आयोगले प्राथमिकताका साथ अध्ययन गरिरहेको छ।

यस व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयको सहजीकरणमा आयोगले हालै विभिन्न देशमा रहेका नेपाली राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग समेत परामर्श गरेको छ।

विदेशस्थित नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी तथा नीतिगत सुधारका विषयमा पनि आयोगले आन्तरिक गृहकार्यलाई अघि बढाएको जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।