काठमाडौँ– त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाबारे छानबिन गर्न समिति गठन भएको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो। एसएसपी रमेश बस्नेतको संयोजकत्वमा समिति गठन गरिएको कार्यालयका रानीपोखरीका प्रवक्ता गोविन्द थपलियाले जानकारी दिए।
उनकाअनुसार समितिमा काठमाडौँ प्रहरी परिसरबाट दुई जना, अपराध महाशाखाबाट एक जना र उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट एक जना सदस्य रहेका छन्।
समितिलाई छानबिन गरेर प्रतिवेदन पेश गर्न पाँच दिनको समय दिइएको छ।
सोमबार बिहान रिद्धीसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। बसमा आगलागी हुँदा जलेर बस चालक बागमती गाउँपालिका ३ का दावा लामा गम्भीर घाइते भएका छन्।
उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। आगलागी चालक लामाले गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ।
बसमा आगलागी हुनुभन्दा पहिले चालक र ट्राफिक प्रहरीबीच विवाद भएको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक भिडियोमा चालकले आफ्नो गल्ती नभएको र जरिवाना नतिर्ने बताएका छन्।
उक्त विवादको केही समयपछि बसमा आगलागी भएको थियो। बसमा आगलागी हुँदा यात्रु थिएनन्। सहचालक पनि बसमा थिएनन्।
बसको ढोका सबै लगाएको अवस्थामा प्रहरीले ढोका फोडेर चालक लामाको उद्धार गरेको थियो।




Comment