क्षमता उपयोग बढेसँगै गोदावरी स्टिलको व्यापार ३० प्रतिशतले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गोदावरी ग्रुपअन्तर्गत सञ्चालित गोदावरी स्टिलले आर्थिक वर्ष २०२५/२६ मा उल्लेखनीय व्यापार वृद्धि गरेको छ। कम्पनीको व्यापार अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले बढेर ६ अर्ब ४७ करोड ३० लाख रुपैयाँ पुगेको छ।

कम्पनीले आर्थिक वर्ष २०२४/२५ मा ५ अर्ब १ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो। त्यसअघि आर्थिक वर्ष २०२३/२४ मा कम्पनीको व्यापार ६ अर्ब ४० करोड ६० लाख रुपैयाँ रहेको थियो।

कम्पनीका अनुसार गत आर्थिक वर्षमा उच्च परिमाणमा स्टिलजन्य सामग्री बिक्री भएका कारण कारोबार वृद्धि भएको हो। उत्पादन क्षमताको उपयोग पनि उल्लेख्य रूपमा बढेको छ। आर्थिक वर्ष २०२५/२६ मा कम्पनीले ६६ प्रतिशत क्षमता उपयोग गरेको छ भने अघिल्लो वर्ष यो ४९ प्रतिशत थियो।

यद्यपि व्यापार बढे पनि कम्पनीको सञ्चालन नाफा मार्जिन घटेको छ। आर्थिक वर्ष २०२४/२५ मा ७.७६ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन गत आर्थिक वर्षमा घटेर ५.६९ प्रतिशतमा सीमित भएको छ। त्यस्तै, ग्रस क्यास अक्रुअल पनि ८ करोड ६० लाख रुपैयाँबाट घटेर ५ करोड ७० लाख रुपैयाँमा झरेको छ।

सन् २०१९ देखि व्यावसायिक उत्पादन सुरु गरेको गोदावरी स्टिलले डण्डी, प्लेन स्टिल बार, स्टिल बिलेट तथा टोर्कारी वायर उत्पादन गर्दै आएको छ। कम्पनीसँग वार्षिक १ लाख ४४ हजार मेट्रिक टन स्टिलजन्य सामग्री उत्पादन क्षमता रहेकोमा हाल उक्त क्षमता बढाएर २ लाख १६ हजार मेट्रिक टन पुर्‍याइएको छ।

कम्पनीको स्वामित्व संरचनामा मुन्नाप्रसाद सेनुरिया बानियाको प्रमुख हिस्सेदारी रहेको छ। कम्पनीले आफ्ना उत्पादनहरू ‘गोदावरी स्टिल’ ब्रान्डमार्फत बजारमा बिक्री वितरण गर्दै आएको छ।

वित्तीय संरचनातर्फ कम्पनी अझै उच्च ऋणमा निर्भर देखिएको छ। आर्थिक वर्ष २०२५/२६ मा कम्पनीको समग्र गियरिङ अनुपात २.७६ गुणा रहेको छ, जुन अघिल्लो वर्ष ३.०५ गुणा थियो। त्यस्तै, कुल बाह्य दायित्व तथा ट्यान्जिबल नेटवर्थको अनुपात ३.०५ गुणा रहेको छ, जुन अघिल्लो वर्ष ३.२९ गुणा थियो।

ब्याज तिर्ने क्षमतासूचक ब्याज कवरेज अनुपात १.२३ गुणामा झरेको छ, जबकि अघिल्लो वर्ष यो १.३५ गुणा थियो। कुल ऋण तथा ग्रस क्यास अक्रुअलको अनुपात भने ८७.३३ गुणाबाट बढेर १४६.८३ गुणा पुगेको छ, जसले ऋण व्यवस्थापनमा थप दबाब देखाएको छ।

यसबीच कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल ७ अर्ब ६० करोड रुपैयाँ बराबरको क्रेडिट रेटिङ गराएको छ। यसमध्ये ३ अर्ब ३२ करोड रुपैयाँ दीर्घकालीन कर्जा र ४ अर्ब २८ करोड रुपैयाँ अल्पकालीन कर्जाका लागि रेटिङ गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।