भोटेकोशी बाढीले किसानको भविष्यमा धक्का, १ हजार ८ सय हेक्टर खेत र हजारौँ पशुपन्छी क्षतिग्रस्त: एफएओ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङका ग्रामीण क्षेत्रमा कृषि तथा पशुपालन क्षेत्रमा व्यापक क्षति पुर्‍याएको प्रारम्भिक मूल्याङ्कनले देखाएको छ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार बाढीका कारण करिब १ हजार ८ सय हेक्टर खेतीयोग्य जमिन प्रभावित भएको छ भने झन्डै ७ हजार ७ सय मेट्रिक टन कृषि उत्पादन गुम्ने अनुमान गरिएको छ। विशेषगरी धानबालीमा ठूलो क्षति पुगेको जनाइएको छ।

एफएओले बाढीले खेतबारीमा लगाइएका बाली नष्ट गर्नुका साथै माटो र गेग्रान थुपारेर धेरै कृषि जमिन अनुपयोगी बनाएको जनाएको छ। माछापोखरी बग्नुका साथै खाद्य भण्डार, कृषि पूर्वाधार, सडक, पुल तथा बजारमा समेत क्षति पुगेकाले खाद्यान्न, पशु आहारा, दूध तथा अन्य कृषि सामग्रीको आपूर्तिमा असर परेको छ।

एफएओकी उपमहानिर्देशक बेथ बेचडोलले बाढीका कारण किसान र पशुपालक समुदायले तत्कालको उत्पादन मात्र नभई भविष्यको आम्दानी र जीविकोपार्जनको आधारसमेत गुमाएको बताएकी छन्। उनका अनुसार प्राकृतिक विपद्को प्रभाव खेतबारी र पशुधनमा सीमित नरही खाद्य सुरक्षा र आर्थिक स्थायित्वमा समेत पर्ने गर्दछ।

बाढीबाट प्रभावित ११ वटा पालिका नेपालका प्रमुख पशुपालन क्षेत्र मानिन्छन्। बाढीअघि ती क्षेत्रमा करिब ३ लाख ५० हजार गाई, भैँसी, भेडा र बाख्रा तथा १६ लाखभन्दा बढी कुखुरा रहेको एफएओको विवरणमा उल्लेख छ। प्रारम्भिक अनुमानअनुसार प्रभावित क्षेत्रमा रहेको कुल पशुधन तथा कुखुरामध्ये ५ देखि १० प्रतिशतसम्म पूर्ण रूपमा नष्ट भएको हुन सक्ने आकलन गरिएको छ।

पशुधनमा भएको क्षतिले ग्रामीण परिवारको आम्दानीमा थप दबाब सिर्जना गरेको छ। दूध, मासु, अण्डा तथा अन्य पशुजन्य उत्पादनबाट जीविकोपार्जन गर्ने परिवारहरूले उत्पादनको मुख्य स्रोत गुमाउँदा आर्थिक पुनर्स्थापना चुनौतीपूर्ण बन्ने देखिएको छ।

एफएओले बाढीपछिको अर्को प्रमुख चुनौती पशु स्वास्थ्य रहेको जनाएको छ। बाढीपछि विभिन्न रोग फैलिने जोखिम बढेकाले खोप, उपचार, रोग निगरानी तथा पशु स्वास्थ्य सेवाको तत्काल विस्तार आवश्यक रहेको संस्थाको भनाइ छ। साथै, प्रभावित किसानका लागि पशु आहारा व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याइएको छ।

संस्थाले प्रभावित किसानलाई समयमै बीउबिजन, कृषि सामग्री तथा प्राविधिक सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिएको छ। बाढीले वर्तमान बाली नष्ट गरेकाले आगामी खेतीको याम प्रभावित हुन नदिन कृषि पुनर्स्थापनाका कार्यक्रम तत्काल अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ।

नेपाल सरकारले सञ्चालन गरिरहेको राहत तथा उद्धार कार्यमा सहयोग गर्दै एफएओले कृषि तथा ग्रामीण जीविकोपार्जनमा भएको क्षतिको विस्तृत मूल्याङ्कन गरिरहेको जनाएको छ। बाली, पशुधन, मत्स्य क्षेत्र, खेतीयोग्य जमिन तथा कृषि पूर्वाधारमा भएको वास्तविक क्षति पहिचान गर्न स्थलगत अध्ययनसँगै उपग्रह तथा रिमोट सेन्सिङ प्रविधिको प्रयोग भइरहेको छ।

एफएओका अनुसार बाढीबाट प्रभावित क्षेत्रका किसानलाई पुनः उत्पादनमा फर्काउनु अहिलेको मुख्य चुनौती बनेको छ। कृषि जमिन, पशुधन, माछापोखरी, खाद्य भण्डार तथा कृषि पूर्वाधारको पुनर्स्थापनासँगै बीउबिजन, पशु आहारा र स्वास्थ्य सेवा उपलब्ध गराउन सके मात्र प्रभावित समुदायलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउन सकिने निष्कर्ष निकालिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।