काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उद्योगी व्यवसायीप्रति दिएको विवादास्पद अभिव्यक्तिपछि चौतर्फी आलोचना बढेपछि उनले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएकी हुन्।
ग्यास आपूर्तिलाई सहज बनाउने विषयमा छलफल भइरहेका बेला मन्त्री यादवले उद्योगी व्यवसायीलाई लक्षित गर्दै दिएको अभिव्यक्तिले व्यापक विवाद निम्त्याएको थियो। विशेषगरी उद्योगीहरूलाई ‘पाता कस्ने’ तथा उद्योगको इजाजतपत्र (लाइसेन्स) खारेज गर्नेसम्मको चेतावनी दिएको भन्दै व्यवसायीहरूले आपत्ति जनाएका थिए।
ग्यास आपूर्तिमा देखिएको समस्याको समाधान खोज्न नेपाल आयल निगम र उद्योगी व्यवसायीबीच बजारमा नियमित आपूर्ति सुनिश्चित गर्ने विषयमा छलफल चलिरहेका बेला उद्योग समितिको बैठकमा मन्त्री यादवले उक्त अभिव्यक्ति दिएकी थिइन्।
व्यवसायीहरूले आपूर्ति व्यवस्थापनमा देखिएको चुनौती समाधान गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य तथा समन्वय आवश्यक रहेको अवस्थामा मन्त्रीबाट आएको धम्कीपूर्ण अभिव्यक्ति अनुपयुक्त भएको बताएका छन्। उनीहरूले यस्तो अभिव्यक्तिले निजी क्षेत्रलाई निरुत्साहित बनाउने र सरकार–व्यवसायी सम्बन्धमा नकारात्मक असर पार्ने टिप्पणी गरेका छन्।
विवाद चर्किँदै गएपछि मन्त्री यादवले अन्ततः आफ्नो पदबाट राजीनामा दिएकी हुन्। उनको राजीनामापछि सरकारले उद्योग मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा चासो बढेको छ।




Comment