उद्योगमन्त्रीको ‘पाता फर्काउने’ धम्कीपछि बालेनको निर्देशनमा ग्यास उद्योगीसँग प्रम सचिवालयको छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको विवादास्पद अभिव्यक्तिपछि असन्तुष्ट बनेका एलपी ग्यास उद्योगीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छलफल गरेको छ। ग्यास आपूर्ति व्यवस्थापन तथा देखिएको विवाद समाधानका विषयमा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को सचिवालयले उद्योगीहरूलाई छलफलका लागि बोलाएको हो।

नेपाल एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिव घिमिरेले प्रधानमन्त्री कार्यालयसँगको छलफल सकारात्मक भएको बताएका छन्। उनका अनुसार प्रधानमन्त्री कार्यालयले मन्त्रीको अभिव्यक्तिलाई बेवास्ता गर्दै ग्यास आपूर्ति सहज बनाउन ध्यान केन्द्रित गर्न आग्रह गरेको छ।

छलफलमा संघका अध्यक्ष दीवान चन्द, पूर्वअध्यक्ष गोकुल भण्डारी तथा अन्य प्रतिनिधिहरू सहभागी थिए। प्रधानमन्त्री कार्यालयका प्रतिनिधिहरूले प्रधानमन्त्रीको निर्देशनअनुसार उद्योगीहरूसँग संवाद गरिएको जानकारी दिएका थिए।

घिमिरेका अनुसार उद्योगीहरूले सङ्कटको अवस्थामा नाफा–घाटाको हिसाब नगरी देशभर ग्यास आपूर्ति सहज बनाउन प्रयास गरिरहेको अवस्थामा मन्त्रीको अभिव्यक्तिले आफूहरू निराश र मर्माहत बनेको बताएका थिए। उनले व्यवसायीलाई नाफाखोरका रूपमा चित्रण गर्नु अनुचित भएको उल्लेख गरे।

छलफलका क्रममा प्रधानमन्त्री कार्यालयले कृष्णभीर क्षेत्रमा अवरुद्ध सडक पाँचदेखि सात दिनभित्र सञ्चालनमा आउने जानकारी गराउँदै त्यस अवधिसम्म पर्याप्त मात्रामा ग्यास आयात गरी बजार आपूर्ति सहज बनाउन उद्योगीहरूलाई अनुरोध गरेको थियो। साथै, अन्य प्रशासनिक तथा नीतिगत विषय सरकारले व्यवस्थापन गर्ने आश्वासन दिएको बताइएको छ।

उद्योगीहरूले दीर्घकालीन, मध्यकालीन तथा अल्पकालीन रूपमा एलपी ग्यास आपूर्ति व्यवस्थापनका उपायहरूबारे आफ्ना सुझाव पनि प्रस्तुत गरेका थिए। सङ्कट व्यवस्थापन तथा आपूर्ति प्रणालीलाई थप प्रभावकारी बनाउने विषयमा अनुभव आदान–प्रदान भएको घिमिरेले बताए।

यसअघि नेपाल आयल निगम र ग्यास उद्योगीहरूबीच आपूर्ति सहज बनाउने विषयमा छलफल भइरहेका बेला प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य समितिको बैठकमा मन्त्री यादवले उद्योगीहरूप्रति कडा टिप्पणी गरेकी थिइन्। उद्योगीहरूको आरोपअनुसार मन्त्रीले ‘पाता कस्ने’ तथा उद्योगको लाइसेन्स खारेज गर्नेसम्मको चेतावनी दिएकी थिइन्, जसले व्यवसायीहरूमा असन्तुष्टि बढाएको थियो।

घिमिरेले मन्त्रीको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै ‘पाता कस्ने’ जस्ता शब्द तत्काल फिर्ता लिन माग गरेका छन्। उनले ग्यास आपूर्तिको समस्या समाधान गर्नुपर्ने समयमा व्यवसायीलाई धम्की दिने शैली स्वीकार्य नभएको बताउँदै अभिव्यक्ति सच्याइएन भने थप कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।