काठमाडौंको रात्रि यातायातका लागि २८ वटा बस र ६ वटा नयाँ रुट प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंमा रात्रिकालीन यातायात सेवा विस्तार गर्न अन्तरनगर यातायात सञ्जाल विकास गरिने जानकारी दिँदै काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उपत्यकाका स्थानीय तहको सहभागिता सुनिश्चित गरेर दिगो प्रणाली स्थापना गर्ने तयारीमा रहेको बताइन् ।

२०८३ वैशाख १ गतेदेखि काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा सञ्चालन गरेको रात्रिकालीन यातायातको प्रभाव र सेवा विस्तार अध्ययन तथा सिफारिस कार्यदलले बुझाएको प्रतिवेदनको सारबारे कुरा गर्दै उनले यस्तो बताएकी हुन्।

काठमाडौं महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा गठित समितिले यो अध्ययन गरेको हो। अध्ययन समितिमा महानगरपालिकाका वरिष्ठ लेखा अधिकृत विपुल तिवारी, सिभिल इन्जिनियर आँचल आचार्य, साझा यातायातका सहायक प्रबन्धक इन्जिनियर जनक रिसाल र यातायात व्यवस्थापन अधिकृत शङ्कर बस्याल सदस्य थिए।

३ महिनाको समीक्षा

प्रतिवेदन बुझ्ने क्रममा परीक्षणकालीन सेवाको ३ महिना अवधिको समीक्षा गरिएको थियो। यस अवधिमा ६६ हजार ९५२ जना यात्रीले सेवा लिएका छन्। एउटा बसले दैनिक औसत १४२ जना यात्री बोक्ने गरेको र यसबाट दैनिक ३ हजार १३४ रुपैयाँ आम्दानी हुने गरेको देखिएको छ। एउटा बसको दैनिक सञ्चालन लागत ४ हजार ८१४ रुपैयाँ रहेको छ। यसरी हेर्दा दैनिक प्रतिबस १ हजार ६९० रुपैयाँ (करिब ३५ प्रतिशत) घाटा भइरहेको प्रतिवेदनले औंल्याएको छ।

अध्ययनले रातको ८ बजेदेखि ९ बजेसम्मको समयमा सबैभन्दा बढी (४१.५६ प्रतिशत) यात्रीको चाप रहने गरेको देखायो। यसमा कार्यालयबाट ढिलो फर्कने कर्मचारी, श्रमिक र दैनिक ज्यालादारी गर्ने मजदुरहरूको सङ्ख्या धेरै छ।

रुटअनुसारको चाप हेर्दा, थानकोट–एयरपोर्ट रुटमा ५१.५५ प्रतिशत र बुढानीलकण्ठ–लगनखेल रुटमा ४८.४५ प्रतिशत यात्रीको भार देखिन्छ। यसरी यात्रा गर्ने यात्रीमध्ये ४७ प्रतिशतले छोटो दूरी अर्थात् ५ किलोमिटरभित्रको दूरीमा यात्रा गरेका थिए। ३२ प्रतिशत यात्री मध्यम दूरीका र २१ प्रतिशत यात्री लामो दूरीका थिए। छोटो दूरीको भाडा २० रुपैयाँ, मध्यम दूरीको २५ रुपैयाँ र लामो दूरीको भाडा ३० रुपैयाँ हो।

अहिले ७ वटा बसबाट नागढुङ्गा–एयरपोर्ट र लगनखेल–बुढानीलकण्ठ रुटमा सेवा प्रदान गरिएको छ। यसलाई बढाएर २८ पुर्‍याउन समितिले सिफारिस गरेको छ। प्रस्तावित नयाँ रुटहरूमा गोदावरी–बुढानीलकण्ठ, चक्रपथमा दोहोरो सेवा, जगाती–ठमेल र कीर्तिपुर–नेपाल वायुसेवा निगमसम्म रहेका छन्। यी रुटहरूले उपत्यकाका प्रमुख अस्पताल, व्यावसायिक केन्द्र र नाकाहरूलाई जोड्नेछन्।

वित्तीय दिगोपनाका लागि प्रिमियम भाडा र लागत साझेदारी
रात्रिकालीन सेवालाई आर्थिक रूपमा दिगो बनाउन कार्यदलले तीनवटा मुख्य विधि प्रस्ताव गरेको छ:

१. रात्रिकालीन समयमा कर्मचारीको अतिरिक्त भत्ता र प्राविधिक खर्च बढी हुने भएकाले हालको भाडामा १२ रुपैयाँ थप गरी ‘रात्रिकालीन प्रिमियम रेट’ कायम गर्न सकिने समितिको पहिलो सुझाव हो।

२. सेवामा हुने कुल घाटाको ५० प्रतिशत रकम ८ वटा नगरपालिकाले समान रूपमा व्यहोर्ने र बाँकी ५० प्रतिशत रकम नगरपालिकाको आकार, जनघनत्व र सञ्चालन दूरीका आधारमा बाँडफाँड गर्ने (भायबिलिटी ग्याप फन्डिङ) मोडल दोस्रो प्रस्ताव हो।

३. यात्रीहरूले वास्तविक अवस्थिति र समयतालिका हेर्न सकिने प्रविधि लगायत यात्रीहरूमा विश्वास र भरोसा बढाउने कार्यक्रम गरेर लागत जुटाउने समितिको तेस्रो विकल्प हो।

प्रतिवेदनले रात्रिकालीन सेवामा महिला, ज्येष्ठ नागरिक र पर्यटकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्ने भनेको छ। यसका लागि बसभित्र सिसीटिभी क्यामरा, जिपिएस ट्रयाकिङ र ‘डेडिकेटेड’ बस स्टपहरूको व्यवस्था गर्न सुझाइएको छ।

काठमाडौं, ललितपुर, बुढानीलकण्ठ, चन्द्रागिरि, सूर्यविनायक, मध्यपुर थिमि, गोदावरी र कीर्तिपुर नगरपालिकाको सक्रिय सहभागितामा यो सेवा विस्तार गरिएमा उपत्यकाको रात्रिकालीन अर्थतन्त्र चलायमान हुने र निजी सवारीमाथिको निर्भरता घट्ने प्रतिवेदनले औंल्याएको छ। सङ्घीय राजधानीको सार्वजनिक यातायातलाई व्यवस्थित गर्न ‘शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण’ मार्फत यसको नियमन र सुशासन कायम हुन सक्ने प्रतिवेदनमा उल्लेख छ।

सुरुवाती तीन महिना (वैशाख–असार) मा ७ वटा विद्युतीय बसमार्फत २ वटा रुटमा सेवा सञ्चालन गरिएको थियो। यो सेवालाई थप प्रभावकारी बनाउन उपत्यकाका ८ वटा नगरपालिकाहरूलाई समेट्ने गरी सेवा विस्तार गर्न सिफारिस गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।