हेटौंडा कपडा उद्योगको निरीक्षण गर्न पुगिन् उद्योगमन्त्री यादव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले पुनः सञ्चालनमा ल्याउने तयारी गरेको हेटौंडा कपडा उद्योगको निरीक्षण गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव उद्योग पुगेकी छिन्।

शनिबार बिहान उद्योगको स्थलगत निरीक्षण तथा अवलोकन गर्न पुगेकी मन्त्री यादवलाई नेपाली सेनाका प्राविधिक टोलीले उद्योगको वर्तमान अवस्था, पुराना मेसिन तथा तानको मर्मतसम्भार र परीक्षण उत्पादनबारे जानकारी गराएको थियो।

लामो समयदेखि बन्द रहेको उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारी तयारीअनुसार नेपाली सेनाको प्राविधिक टोलीले उद्योग परिसरको सरसफाइ, विद्युत् प्रणालीको मर्मत तथा पुराना मेसिन र तानको परीक्षण गर्ने काम गरिरहेको छ। गत साउनमा नेपाली सेनाको प्राविधिक सहयोगमा उद्योगमा प्रारम्भिक परीक्षण उत्पादनसमेत सफल भइसकेको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पूर्ण क्षमतामा सञ्चालन हुने बताएकी छन् ।

मन्त्री यादवले हाल २० वटा मेसिन सफलतापूर्वक सञ्चालनमा आएको र बाँकी मेसिन मर्मतको चरणमा रहेको बताउँदै कुल ४८८ वटै मेसिन क्रमशः सञ्चालनमा ल्याइने बताएकी छन् ।

उनले विगतमा ९ करोड खर्च हुँदा पनि उद्योग नचलेको तर अहिले ३३ लाख लगानीमा २० वटा मेसिन सञ्चालनमा ल्याएको र नेपाली सेनाले व्यवस्थापन र सञ्चालनमा सहयोग गरिरहेको जानकारी दिइन् ।

हेटौंडा कपडा उद्योग नेपालको पुरानो सरकारी औद्योगिक सम्पत्तिमध्ये एक हो। चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०३२ मा स्थापना भएको उद्योगले २०३५ देखि व्यावसायिक उत्पादन सुरु गरेको थियो।

तर, बढ्दो प्रशासनिक खर्च, नयाँ प्रविधिमा लगानीको अभाव, विद्युत् आपूर्तिसम्बन्धी समस्या र अत्याधिक आन्दोलन र विदेशबाट आउने सस्तो कपडासँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योग अन्ततः बन्द हुन पुगेको थियो।

सरकारले यसअघि पनि पटक–पटक उद्योग पुनः सञ्चालन गर्ने योजना र अध्ययन गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन।

यसपटक भने सरकारले उद्योग पुनर्जीवनलाई प्राथमिकतामा राख्दै नेपाली सेनालाई उद्योगका मेसिनको अवस्था अध्ययन, मर्मतसम्भार र परीक्षण उत्पादनको जिम्मेवारी दिएको छ। उद्योग पुनः सञ्चालनको सम्भाव्यता र आवश्यक लगानीबारे थप प्राविधिक अध्ययनसमेत भइरहेको छ।

सरकारको दीर्घकालीन योजना हेटौंडा कपडा उद्योगमार्फत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि आवश्यक पोसाक तथा अन्य कपडा स्वदेशमै उत्पादन गर्ने रहेको छ।

यसका साथै उद्योगलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याएर आयात प्रतिस्थापन, रोजगारी सिर्जना र मुलुकको औद्योगिक उत्पादन बढाउने लक्ष्य पनि राखिएको छ।

पूर्ण क्षमतामा सञ्चालन हुँदा हेटौंडा कपडा उद्योगले हजारौंलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिने र स्वदेशी कपडा उत्पादनलाई टेवा पुग्ने अपेक्षा सरकारले गरेको छ।

उद्योगसँग पर्याप्त जग्गा र पुरानो औद्योगिक संरचना भए पनि आधुनिक मेसिन, थप लगानी, सुनिश्चित बजार र व्यावसायिक व्यवस्थापनबिना यसको दीर्घकालीन सञ्चालन चुनौतीपूर्ण हुने विज्ञ तथा व्यवसायीहरूको भनाइ छ।

मन्त्री यादवले हेटौंडा कपडा उद्योगसँगै बन्द रहेका अन्य रुग्ण सरकारी उद्योगलाई पनि क्रमशः पुनः सञ्चालनमा ल्याउने सरकारको नीति रहेको बताउँदै आएकी छन्।

हेटौंडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल भइसकेकाले अब यसलाई व्यावसायिक उत्पादनतर्फ लैजान आवश्यक थप लगानी र कार्ययोजना तय गर्नु सरकारका लागि अर्को महत्वपूर्ण चरण हुने छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।