‘हिमालयन आर्ट फेस्टिभल’ आजदेखि, १५२ भन्दा बढी कलाकार सहभागी हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली समकालीन कला र कलाकारहरूको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी अगस्त २१ देखि २७ (भदौ ५–११) सम्म बबरमहलस्थित नेपाल कला परिषद्‌मा ‘हिमालयन आर्ट फेस्टिभल २०२६’ आयोजना हुने भएको छ ।

ई–आर्ट्स नेपालको आयोजनामा हुन लागेको यस महोत्सवमा १५२ भन्दा बढी समकालीन नेपाली कलाकारहरूका कलाकृतिहरू प्रदर्शनीमा राखिनेछन् । सन् २०१७ देखि वार्षिक रूपमा आयोजना हुँदै आएको यस महोत्सवमा चित्रकला, पौभा, मूर्तिकला, प्रिन्टमेकिङ, इन्स्टलेसन र सेरामिक्स लगायतका विविध कलाका माध्यमहरू प्रस्तुत गरिने आयोजकले जनाएका छन् ।

महोत्सवको नवौँ संस्करणका अवसरमा नेपाली कला क्षेत्रमा असाधारण योगदान पुर्‍याएका वरिष्ठ कलाकार बत्स गोपाल वैद्यलाई ‘अनर्स टु द मेस्ट्रो’ बाट विशेष सम्मान गरिनेछ । महोत्सवको उद्घाटन बोधिसत्व इन्टरनेशनलकी सह–संस्थापक अञ्जना शाक्यबाट हुने कार्यक्रम रहेको छ ।

प्रदर्शनीको प्रमुख क्युरेटरका रूपमा विधाता केसी र सह–क्युरेटरका रूपमा सुरेश महर्जन रहेका छन् । फेस्टिभलले स्थानीय कला संग्राहक तथा कर्पोरेट क्षेत्रलाई नेपाली कलामा लगानी गर्न र कलाकारहरूसँग प्रत्यक्ष जोडिन महत्त्वपूर्ण मञ्च प्रदान गर्ने विश्वास लिइएको छ ।

सात दिनसम्म चल्ने यस महोत्सवमा कला प्रदर्शनीका साथै विभिन्न विधाका कार्यक्रमहरू समेत सञ्चालन हुनेछन् । महोत्सवको पहिलो दिन उद्घाटनसँगै ‘प्रशान्त कला पुरस्कार २०२६’ प्रदान गरिनेछ । यो पुरस्कार सन् २००३ मा दिवंगत कलाकार प्रशान्त श्रेष्ठको स्मृतिमा स्थापना गरिएको हो, जसले युवा तथा उदाउँदा कलाकारहरूलाई प्रोत्साहन गर्दै आएको छ ।

यस्तै, महोत्सवको दोस्रो दिन अगस्त २२ मा क्यालिजात्रा फाउन्डेसनको आयोजनामा ‘रञ्जना लिपि कार्यशाला’ सञ्चालन हुनेछ भने तेस्रो दिन अगस्त २३ मा डा. टंक उप्रेतीको संयोजनमा ‘आर्ट विथ पोयट्री’ (कविता वाचन) कार्यक्रम आयोजना गरिनेछ, जहाँ १० जना ख्यातिप्राप्त कविहरूले आफ्ना रचना प्रस्तुत गर्नेछन् ।

महोत्सवको चौथो दिन अगस्त २४ मा नेपाली समकालीन कलाको मूल्य निर्धारण, अभ्यास र भविष्यका बारेमा ‘कला संवाद तथा प्यानल छलफल’ हुनेछ ।
तारागाउँ नेक्स्टका निर्देशक रोशन मिश्रले सहजीकरण गर्ने उक्त छलफलमा अभिजीत प्रजापति, सोफिया महर्जन र सुजन श्रेष्ठ वक्ताका रूपमा रहनेछन् ।

नेपाल ट्रेडिसनल पेन्टिङ काउन्सिल, एनटीभी वर्ल्ड, कुटुम्ब र क्यालिजात्रा फाउन्डेसन लगायतका संस्थाहरूको सहकार्यमा आयोजना हुन लागेको यो फेस्टिभल नेपालको समृद्ध कला र संस्कृतिको उत्सवका रूपमा रहने आयोजक ई–आर्ट्स नेपालले उल्लेख गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।