काठमाडौँ- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ।
सन् १९७५ मा सीमित सवारी आयातकर्ताहरू मिलेर सुरु भएको यो संस्था स्वर्ण जयन्ती मनाउने चरणमा पुगेको हो। ऐतिहासिक उपलब्धिका साथ आयोजना हुन लागेको यो मेला आगामी भदौ ९ देखि १४ गते (अगस्ट २५ देखि ३०) सम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी हलमा सञ्चालन हुनेछ।
करिब तीन लाख वर्गफिट क्षेत्रफलमा फैलिने यस प्रदर्शनीमा २ सयभन्दा बढी स्टलहरू रहनेछन्। मेलामा २३ वटा चारपाङ्ग्रे यात्रुवाहक, १७ वटा साना तथा मझौला व्यावसायिक सवारी (LCV) र १३ वटा दुईपाङ्ग्रे ब्रान्डहरूको प्रत्यक्ष सहभागिता रहनेछ।
यसका साथै पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरण सम्बन्धी करिब ७० कम्पनी र १० वटा बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरूको समेत सहभागिता रहने जनाइएको छ।
पाँच दशकको यात्रामा नेपाली अटोमोबाइल क्षेत्रले ठूलो फड्को मारेको छ, जहाँ हाल दर्ता भएका सवारीसाधनको संख्या करिब ५५ लाख पुगेको छ। विगत पाँच आर्थिक वर्षमा मात्रै करिब ४७० अर्ब रुपैयाँ बराबरका सवारी तथा सम्बन्धित सामग्री आयात हुँदा राज्यलाई करिब ३५१ अर्ब रुपैयाँ भन्सार राजस्व प्राप्त भएको छ।
यस्तै, हरित गतिशीलता (Green Mobility) तर्फ उन्मुख हुँदै देशमा हालसम्म करिब ६३ हजार विद्युतीय सवारीसाधन (EVs) भित्रिइसकेका छन् भने तिनका लागि करिब २ हजार चार्जिङ स्टेसनको सञ्जाल तयार भएको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले यो स्वर्ण जयन्ती संस्करण केवल संस्थाको उत्सव नभएर सिङ्गो उद्योगको योगदानको लेखाजोखा भएको बताएका छन्।
नेपालको अटोमोबाइल क्षेत्रले रोजगारी सिर्जना, राजस्व संकलन, हरित प्रविधिको विस्तार र आर्थिक चलायमानतामा पुर्याएको योगदानलाई उजागर गर्दै यस ऐतिहासिक कोशेढुङ्गाले नेपाली यातायात प्रणालीलाई थप आधुनिक, सुरक्षित र वातावरणमैत्री बनाउन नयाँ दिशा दिने विश्वास लिइएको छ।





Comment