काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ सम्पन्न भएको छ। साउन २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको एक्स्पो आइतबार समापन भएको हो।
समापन अवसरमा नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले यस वर्षको एक्स्पो अत्यन्त सफल र उत्साहजनक रूपमा सम्पन्न भएको बताइन्। उनका अनुसार प्रदर्शनीले सवारीसाधन तथा मोबिलिटी क्षेत्रप्रति उपभोक्ताको बढ्दो आकर्षण र बजारमा देखिएको सकारात्मक माहोललाई झल्काएको छ।
अध्यक्ष वैद्यका अनुसार अघिल्लो संस्करणमा करिब एक लाख दर्शकले प्रदर्शनी अवलोकन गरेका थिए। यस वर्ष भने उक्त संख्या बढेर करिब एक लाख ८० हजार पुगेको छ।
उनले प्रदर्शनी अवधिभर नयाँ प्रविधियुक्त सवारीसाधनबारे जानकारी लिने, विभिन्न ब्रान्डका उत्पादन अवलोकन गर्ने तथा सवारीसाधन बुकिङ गर्ने उपभोक्ताको उत्साहजनक सहभागिता देखिएको बताइन्। यसले अटोमोबाइल बजारप्रति उपभोक्तामा सकारात्मक मनोविज्ञान विकास भइरहेको संकेत गरेको उनको भनाइ छ।
वैद्यले नाइमाले अटोमोबाइल क्षेत्रको प्रवर्द्धनसँगै नीतिगत सुधार र नीति निर्माणका विषयमा पनि विभिन्न सरोकारवाला निकायसँग सहकार्य गर्दै आएको उल्लेख गरिन्। आगामी दिनमा यस्ता गतिविधिलाई अझ प्रभावकारी बनाउँदै अटो क्षेत्रको विकास, विस्तार र दिगो प्रगतिका लागि संस्थागत रूपमा योगदान जारी राख्ने उनले प्रतिबद्धता व्यक्त गरिन्।
नेपालकै ठूलो मोबिलिटी प्रदर्शनीका रूपमा परिचित नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा स्वदेशी तथा अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहेको थियो। प्रदर्शनीमा विद्युतीय सवारीसाधन, दुईपाङ्ग्रे, चारपाङ्ग्रे, व्यावसायिक सवारी तथा मोबिलिटीसँग सम्बन्धित नवीन प्रविधिहरू प्रदर्शित गरिएका थिए।





Comment