काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय सम्मेलनले पार्टीको १५औँ महाधिवेशन, राष्ट्रिय एकता तथा लोकतन्त्रको सुदृढीकरण, सनातन धर्म–संस्कृति, संविधान संशोधनलगायत पाँच वटा प्रस्ताव पारित गरेको छ।
साउन २९ देखि ३१ गतेसम्म सम्पन्न सम्मेलनले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव पारित गरेको हो। प्रस्तावमा पूर्वसभापति शेरबहादुर देउवाको सभापतित्वमा १५औँ महाधिवेशन सम्पन्न हुने र उहाँकै नेतृत्वमा पार्टी एकताबद्ध भई महाधिवेशन सम्भव हुने विश्वास व्यक्त गरिएको छ।
महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि देउवाको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकले संयोजन गर्दै जाने निर्णयसमेत गरिएको छ।
सम्मेलनले देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रिय तथा लोकतन्त्रवादी शक्तिसँग संवाद गरी राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि सक्रिय रहने प्रतिबद्धता जनाएको छ। प्रस्तावमा २०३३ सालमा बीपी कोइरालाले राष्ट्रिय संकटका बेला राष्ट्रिय एकता तथा मेलमिलापको नीति अघि सारेको प्रसंगसमेत उल्लेख गरिएको छ।
त्यस्तै, नेपालको सनातनदेखि चलिआएको धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता सम्मेलनले जनाएको छ। धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा प्रत्येक व्यक्ति र धार्मिक समुदायको धार्मिक स्वतन्त्रता सुनिश्चित गर्दै हिन्दु, बौद्ध, किरात र प्राकृत धर्म–संस्कृतिको संरक्षण गर्ने प्रस्तावमा उल्लेख छ।
सम्मेलनले वर्तमान संविधानमा जनअपेक्षाअनुसार आवश्यक संशोधनका लागि संविधानमा व्यवस्था भएबमोजिम सम्बन्धित सबै पक्षसँग संवाद गरी निकास खोज्ने निर्णय पनि गरेको छ।
त्यसैगरी, राष्ट्रिय सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव तथा सुझावलाई समेटेर पारित प्रस्तावलाई परिमार्जनसहित लिखित स्वरूप दिने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा रहेको समितिलाई दिइएको छ। समितिमा केन्द्रीय सदस्य उमाकान्त चौधरी र सीता राना सदस्य तथा मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेल सहयोगीका रूपमा रहनेछन्।
सम्मेलनबाट पारित पाँच प्रस्तावले कांग्रेसभित्र आगामी महाधिवेशन, पार्टी एकता, संविधान संशोधन तथा धर्म–संस्कृतिसम्बन्धी विषयमा संस्थापन इतर समूहको राजनीतिक दृष्टिकोणलाई औपचारिक रूपमा अघि सारेको छ।





Comment