काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७.५८ प्रतिशतले बढी हो।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकसम्म कम्पनीको खुद मुनाफा ६ अर्ब ६७ लाख रुपैयाँ रहेको थियो। एक वर्षको अवधिमा खुद मुनाफा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँले वृद्धि भएको कम्पनीले जनाएको छ।
समीक्षा अवधिमा कम्पनीको करअघिको मुनाफा पनि उल्लेख्य रूपमा बढेको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म करअघिको मुनाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ९ अर्ब ८५ करोड २ लाख रुपैयाँको तुलनामा ३४.६६ प्रतिशतले बढी हो।
त्यस्तै, ब्याज, कर, ह्रासकट्टी तथा अमोर्टाइजेसनअघिको आम्दानी (EBITDA) २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी १८ अर्ब ४९ करोड ६० लाख रुपैयाँ रहेको थियो। यस आधारमा EBITDA १०.७३ प्रतिशतले वृद्धि भएको देखिन्छ।
कम्पनीको कुल सञ्चालन आय पनि बढेको छ। समीक्षा अवधिमा सञ्चालन आय ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यो ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँ थियो। सञ्चालन आयमा १ अर्ब ५ करोड ५९ लाख रुपैयाँ अर्थात् ३.१२ प्रतिशतको वृद्धि भएको हो।
यसैगरी, कुल आय ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल आय ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ रहेको थियो। यसअनुसार कुल आय १ अर्ब १ करोड १५ लाख रुपैयाँ अर्थात् २.६५ प्रतिशतले बढेको छ। कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिकीकरण गरिएको) ४९.२५ रुपैयाँ रहेको छ।
ब्याज आम्दानी घट्दा पनि मुनाफामा सुधार
नेपाल टेलिकमका अनुसार समीक्षा अवधिमा बजारमा ब्याजदर क्रमिक रूपमा घट्दै जाँदा कम्पनीको ब्याज आम्दानीमा कमी आएको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको तुलनामा गत आर्थिक वर्षको सोही अवधिमा ब्याज आम्दानी ८६ करोड १९ लाख रुपैयाँ अर्थात् २२.८८ प्रतिशतले घटेको छ।
यद्यपि, मुख्य दूरसञ्चार सेवाबाट प्राप्त हुने आम्दानीमा भएको वृद्धि तथा सञ्चालन व्यवस्थापनमा सुधारका कारण समग्र सञ्चालन आय र मुनाफामा सकारात्मक प्रभाव परेको कम्पनीले जनाएको छ। विशेषगरी जिएसएम सेवातर्फको राजस्व वृद्धि मुनाफा बढ्नुको प्रमुख आधार बनेको छ।
कम्पनीका अनुसार जिएसएम सेवाबाट प्राप्त राजस्व अघिल्लो वर्षको तुलनामा ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् २.२८ प्रतिशतले बढेको छ।
दुर्गम क्षेत्रमा सेवा विस्तारलाई निरन्तरता
नेपाल टेलिकमले राष्ट्रिय सञ्चार पूर्वाधारको जिम्मेवारीलाई प्राथमिकतामा राख्दै दुर्गम तथा विकट क्षेत्रमा सेवा विस्तार र गुणस्तर सुधारलाई निरन्तरता दिएको जनाएको छ।
कम्पनीका अनुसार कम प्रतिफल प्राप्त हुने तथा उच्च लागत लाग्ने भौगोलिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा समेत दूरसञ्चार सेवा विस्तार गर्नुपर्ने भएकाले अतिरिक्त सञ्चालन खर्च व्यहोर्नुपरेको छ। त्यसका बाबजुद नेटवर्क विस्तार, सेवा गुणस्तर अभिवृद्धि तथा पहुँच विस्तारका कार्यक्रमलाई निरन्तर अघि बढाइएको छ।
वित्तीय विवरणले सञ्चालन आयमा सामान्य वृद्धि भए पनि मुनाफामा उल्लेख्य सुधार भएको देखाएको छ। ब्याज आम्दानी घटेको अवस्थामा पनि जिएसएम सेवाको राजस्व वृद्धि, सञ्चालन खर्च व्यवस्थापन तथा वित्तीय अनुशासनका कारण कम्पनीले मुनाफा बढाउन सफल भएको विश्लेषण गरिएको छ।
नेपाल टेलिकमले आगामी दिनमा सेवा गुणस्तर सुधार, नयाँ प्रविधिको विस्तार तथा दुर्गम क्षेत्रमा दूरसञ्चार पहुँच अभिवृद्धिलाई प्राथमिकतामा राख्दै अघि बढ्ने जनाएको छ। दूरसञ्चार क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच विद्यमान ग्राहक आधार कायम राख्नुका साथै डेटा तथा डिजिटल सेवाको प्रयोग विस्तार गर्नु कम्पनीका लागि आगामी दिनका प्रमुख अवसर र चुनौतीका रूपमा रहने कम्पनीको भनाइ छ।





Comment