काठमाडौं । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधि सभाकी उपसभामुख रुवि कुमारी ठाकुरले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सरकारको कदमको समर्थन गरेकी छन्।
उपसभामुख ठाकुरले श्रेष्ठमाथि पत्रकारिताको आवरणमा महिलाहरूको चरित्रहत्या गर्ने र मानसिक रूपमा प्रताडित बनाउने काम गरेको आरोप लगाएकी छन्। उनले श्रेष्ठको पक्राउलाई उचित कदम भएको टिप्पणी गरेकी छन्।
सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै ठाकुरले लेखेकी छन्, “यो श्रीसा कार्कीलाई आत्महत्या गराउने र कैयौं युवतीलाई आत्महत्या दुरुत्साहन गर्ने पत्रकारको भेषमा राक्षस नै हो। यसले कैयौं महिला दिदीबहिनीको चरित्रहत्या गरेको छ। यसको जनआस्था पत्रकार आचारसंहिताविपरीत रहेको छ। यो राक्षसलाई के भन्ने?”
उनको उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा पक्ष–विपक्षमा व्यापक बहस सुरु भएको छ।
जनआस्था साप्ताहिक तथा जनआस्था डट्कमका सञ्चालक–सम्पादक श्रेष्ठलाई बुधबार राति वैयक्तिक गोपनीयता हननसम्बन्धी कसूरमा प्रहरीले पक्राउ गरेको थियो। उनीमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरकान्त चौधरी र एक युवतीसँग सम्बन्धित तस्बिर सार्वजनिक गरेको आरोप लागेको छ।
उक्त घटनामा सम्बन्धित युवतीले आफ्नो व्यक्तिगत गोपनीयता हनन भएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
यद्यपि, उपसभामुख ठाकुरले सामाजिक सञ्जालमा व्यक्त गरेका आरोपहरूबारे अदालतबाट कुनै अन्तिम फैसला भइसकेको छैन। त्यसैले ती आरोपहरू उनका व्यक्तिगत धारणा र अभिव्यक्तिका रूपमा रहेका छन्।





Comment