आदर्श प्रोडक्सन्सका संस्थापक राकेश शाह: इन्जिनियरिङदेखि मनोरञ्जन उद्योगसम्मको यात्रा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली तथा मैथिली मनोरञ्जन क्षेत्रका निर्माता, गीतकार र उद्यमी राकेश शाह पछिल्लो समय नेपाल तथा प्रवासमा रहेर सिर्जनात्मक सामग्री निर्माणमा सक्रिय छन्। आदर्श प्रोडक्सन्सका संस्थापक शाहले नेपाली र मैथिली भाषामा म्युजिक भिडियो, वेब सिरिज तथा चलचित्र निर्माण गर्दै आएका छन्।

नेपालको लहानमा जन्मिएका शाह हाल बेलायतको स्कटल्याण्डस्थित एडिनबर्गमा बसोबास गर्दै आएका छन्। व्यावसायिक रूपमा निर्माण परियोजना व्यवस्थापन (कन्स्ट्रक्सन प्रोजेक्ट म्यानेजमेन्ट) क्षेत्रमा आबद्ध रहेका उनी इन्जिनियरिङ र मनोरञ्जन क्षेत्रलाई समानान्तर रूपमा अघि बढाइरहेका छन्।

शाहले भारतस्थित गुरु नानक इन्स्टिच्युसन्स टेक्निकल क्याम्पसअन्तर्गत जवाहरलाल नेहरू टेक्नोलोजिकल युनिभर्सिटी (जेएनटियु), हैदराबादबाट सिभिल इन्जिनियरिङमा स्नातक उपाधि हासिल गरेका छन्। त्यसपछि उनले स्कटल्याण्डको हेरियट–वाट विश्वविद्यालयबाट कन्स्ट्रक्सन प्रोजेक्ट म्यानेजमेन्ट विषयमा स्नातकोत्तर (एमएस्सी) उपाधि प्राप्त गरेका हुन्।

इन्जिनियरिङ क्षेत्रमा व्यावसायिक करिअर बनाइरहेका शाहले संगीत तथा मनोरञ्जन क्षेत्रसँगको आफ्नो लगावलाई पनि निरन्तरता दिएका छन्। गीतकारका रूपमा उनले ‘के तिमी मलाई माया गर्छौ’ र ‘कसरी भनूँ तिमीलाई’ जस्ता गीत रचना गरेका छन्।

उनकै संस्थापनामा रहेको आदर्श प्रोडक्सन्समार्फत ‘न्यानो साथ’, ‘कसरी भनूँ तिमीलाई’, ‘के तिमी मलाई माया गर्छौ’ र ‘जाने मान्छे गईहाल्छ छोडेर’ लगायतका नेपाली म्युजिक भिडियो निर्माण भएका छन्।

त्यसैगरी मैथिली भाषामा ‘चेहरा या चाँदनी गोरी’, ‘प्रियतम के हाथ’, ‘जवानी काफी’, ‘चालू अपन देश’ तथा ‘आहा के चेहरा’ लगायतका म्युजिक भिडियोहरू पनि निर्माण भएका छन्। यी सामग्रीले मैथिली भाषी दर्शकमाझ समेत राम्रो पहुँच बनाएको बताइन्छ।

संगीत निर्माणसँगै शाह डिजिटल सामग्री तथा चलचित्र निर्माणमा पनि सक्रिय छन्। नेपाली तथा मैथिली भाषामा निर्माण गरिएको वेब सिरिज ‘आरती’ मा उनले क्रियेटिभ प्रोड्युसरको भूमिका निर्वाह गरेका छन्।

यसैगरी नेपाली, मैथिली, हिन्दी तथा भोजपुरी भाषामा निर्माण भइरहेको बहुभाषिक चलचित्र ‘प्रतिवैरम्’मा उनी निर्माता रूपमा आबद्ध छन्। चलचित्रमार्फत विभिन्न भाषा र संस्कृतिलाई एउटै कथामा जोड्ने प्रयास गरिएको जनाइएको छ।

आदर्श प्रोडक्सन्समार्फत शाहले नेपाली तथा मैथिली भाषामा मौलिक र गुणस्तरीय सामग्री निर्माणलाई प्राथमिकता दिँदै आएका छन्। म्युजिक भिडियो, वेब सिरिज र फिचर चलचित्र निर्माणसँगै उनले विभिन्न कलाकार, गायक–गायिका, चलचित्रकर्मी तथा सिर्जनशील व्यक्तित्वसँग सहकार्य गर्दै आएका छन्।

हाल बेलायतमा निर्माण परियोजना व्यवस्थापन क्षेत्रमा कार्यरत शाह नेपालमा निर्माण भइरहेका विभिन्न मनोरञ्जन परियोजनाको योजना, विकास तथा व्यवस्थापनमा पनि सक्रिय छन्। निर्माण व्यवस्थापनसम्बन्धी आफ्नो व्यावसायिक अनुभवलाई चलचित्र तथा डिजिटल सामग्री निर्माणमा प्रयोग गर्दै उनले सिर्जनात्मक र व्यवस्थापकीय दुवै पक्षलाई सन्तुलित रूपमा अघि बढाइरहेका छन्।

मनोरञ्जन क्षेत्रमा नयाँ पुस्ताका निर्माता तथा सर्जकका रूपमा चिनिएका शाहले नेपाली र मैथिली भाषाका सामग्रीलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।