काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा करिब ४ हजार ५ सय प्रतिनिधि सहभागी हुने भएका छन्।
कांग्रेस नेता डा. शशांक कोइरालाको नेतृत्वमा गठित समितिले साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्न लागेको हो। भेलाको सम्पूर्ण तयारी पूरा भएको प्रचार–प्रसार उपसमितिका संयोजक मीन विश्वकर्माले जानकारी दिए।
उनका अनुसार साउन २९ गते काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा दिउँसो १ बजे भेलाको उद्घाटन गरिनेछ।
‘भेलाको सबै तयारी पूरा भएको छ,’ विश्वकर्माले भने, ‘सहभागीका लागि निश्चित मापदण्ड तय गरेका छौं। सोही आधारमा देशभरबाट करिब ४ हजार ५ सय प्रतिनिधि सहभागी हुनेछन्।’
भेलाको पहिलो दिन उद्घाटन सत्र सञ्चालन गरिनेछ भने दोस्रो दिन बन्दसत्र आयोजना हुनेछ। बन्दसत्र बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुने कार्यतालिका छ। त्यसपछि भोजन अवकाशपछि दिउँसो १ बजेदेखि पुनः बन्दसत्र सञ्चालन गरिने आयोजकले जनाएको छ।
संस्थापन इतर पक्षले आयोजना गर्न लागेको यस भेलालाई नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिक बहस, संगठन सुदृढीकरण तथा भावी रणनीति तय गर्ने महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ।





Comment