काठमाडौं । प्रधानमन्त्री बालेन शाह र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन गर्ने तथा विकास साझेदारीलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्यलाई विस्तार गर्नुपर्नेमा जोड दिएका थिए। जवाफमा राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रधानमन्त्री नियुक्त भएपछि शाहले गत चैत १३ गते नेपालस्थित राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए। त्यसपछि चैत २५ गते भएको अर्को सामूहिक भेटमा विदेशी कूटनीतिज्ञहरूले उनलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिएका थिए।
प्रधानमन्त्री शाहले सुरुआतमा विदेशी कूटनीतिज्ञहरूसँग व्यक्तिगत रूपमा भेट नगर्ने योजना बनाएका थिए। तर, पछिल्लो समय उनले असार २३ गते एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दासँग एकल भेटवार्ता गरेका थिए।
सोमबार प्रधानमन्त्री शाहले भारतीय तथा चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। त्यस्तै, मंगलबार अमेरिकी दूतावासका एक उच्च अधिकारीसँग पनि भेट गर्ने कार्यक्रम तय भएको जनाइएको छ।





Comment