काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवल शमशेर राणा र मेडिकल व्यवसायी दुर्गा प्रसाईं मिलेर नयाँ राजनीतिक दल गठन गरेका छन् । उनीहरूले नयाँ पार्टीको नाम ‘जय नेपाल पार्टी’ तय गरेका हुन् ।
नयाँ पार्टी खोल्नका लागि विभिन्न समितिहरू बनाएर गृहकार्य गरिरहेका उनीहरूले आजको बैठकबाट पार्टीको नाम र नेतृत्वको टुंगो लगाएका हुन् ।नयाँ पार्टीको अध्यक्षमा डा. धवल शमशेर राणा रहनेछन् भने दुर्गा प्रसाईं ‘सर्वोच्च नेता’ को भूमिकामा रहने सहमति भएको छ ।
नयाँ दल दर्ताका लागि उनीहरू आगामी साउन २८ गते निर्वाचन आयोग जाने तयारीमा छन् । सोही दिन औपचारिक रूपमा पार्टी घोषणा गर्ने र दर्ताका लागि निवेदन दिने कार्यक्रम रहेको छ । पार्टीको चुनाव चिह्नबारे भने विभिन्न विकल्पमा छलफल भइरहेको र हालसम्म अन्तिम टुंगो लाग्न बाँकी रहेको बताइएको छ ।
‘जय नेपाल पार्टी’ ले संवैधानिक राजतन्त्र र सनातन धर्मलाई मुख्य विचारका रूपमा अघि सार्ने भएको छ ।
उनीहरूले आफूहरूलाई ‘प्रजातान्त्रिक राष्ट्रवादी शक्ति’ का रूपमा स्थापित गर्ने लक्ष्य राखेका छन् । राजसंस्था पुनर्स्थापनाका पक्षमा उभिँदै आएका राणा र प्रसाईंले यसअघि पनि विभिन्न आन्दोलनमा सहकार्य गर्दै आएका थिए ।
राप्रपाका प्रभावशाली नेता रहेका डा. राणाले गत जेठ १७ गते पार्टी परित्याग गरेका थिए । यस्तै, ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान’ सञ्चालन गर्दै आएका दुर्गा प्रसाईं र राणाबीच गत जेठ २२ गते नयाँ पार्टी खोल्ने सहमति भएको थियो ।
यसअघि २०८१ चैत १५ मा काठमाडौंमा भएको राजसंस्था पुनर्स्थापना आन्दोलनमा पनि उनीहरू एकै मोर्चामा थिए । त्यसबेला प्रसाईं आन्दोलनको कमान्डर र राणा आन्दोलन परिचालन समितिको संयोजक रहेका थिए । राप्रपाभित्रको असन्तुष्टि र प्रसाईंको अभियानलाई एकीकृत गर्दै उनीहरूले नयाँ राजनीतिक यात्रा सुरु गर्न लागेका हुन् ।

Comment